प्रतिनिधिसभाबाट सार्वजनिक खरिद र सम्पत्ति शुद्धीकरणसहित चार अध्यादेश स्वीकृत

असार ५, २०८३

काठमाडौँ ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण चारवटा अध्यादेशहरूलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सरकारले पेस गरेका ती अध्यादेशहरूलाई अस्वीकार गरियोस् भनी प्रतिपक्षी सांसदहरूले राखेका प्रस्तावहरू बहुमतले अस्वीकृत भएसँगै अध्यादेशहरू स्वीकृत भएका हुन्।

बैठकले स्वीकृत गरेका अध्यादेशहरूमा निम्नलिखित रहेका छन्: १. सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ २. सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ ३. सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ ४. स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३

अस्वीकार गर्ने सांसदहरूका प्रस्ताव बहुमतले अस्वीकृत

विधेयकहरूलाई प्रक्रियामा लैजानुअघि संसद्‌मा तिनीहरूलाई अस्वीकार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गरिएका थिए। बैठकमा सांसद खडकबहादुर बुढाले राख्नुभएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरिदिएको थियो।

त्यसै गरी, सांसद नीता घतानीले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राख्नुभएको प्रस्ताव पनि संसद्‌बाट अस्वीकृत भयो। सहकारी क्षेत्रको सुधार र नियमनका लागि ल्याइएको ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी सांसद आरेन राईले राख्नुभएको प्रस्तावलाई समेत बैठकले अस्वीकृत गरेको छ।

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी सांसद कृपाराम रानाले राख्नुभएको प्रस्ताव पनि संसद्‌मा बहुमतले अस्वीकृत भएको थियो। ती सबै अस्वीकारका प्रस्तावहरू बहमुतबाट ढलेपछि मन्त्रीहरूले राखेका स्वीकृतिका प्रस्तावहरू सदनले अनुमोदन गरेको हो।

यी चारै अध्यादेशहरू स्वीकृत भएसँगै सरकारलाई विकास निर्माण, वित्तीय अनुशासन, सहकारी नियमन र स्वास्थ्य प्रतिष्ठानहरूको व्यवस्थापनमा कानुनी रूपमा अघि बढ्न सहज हुने देखिएको छ। प्रतिनिधिसभाको अर्को बैठक आगामी असार ११ गते बिहीबार बस्ने गरी स्थगित गरिएको छ।

सम्पर्कमा रहनुहोस्