पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः अख्तियारले ५५ जनाविरुद्ध मुद्दा

मंसिर २१, २०८२

काठमाडौँ, २१ मङ्सिर — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा व्यापक अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले विमानस्थल निर्माण प्रक्रिया अवैध तरिकाले प्रभावित पारिएको र यसमार्फत रु ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजारभन्दा बढी रकम दुरुपयोग भएको उल्लेख गरेको छ।आयोगका अनुसार, दीर्घकालीन राष्ट्रिय महत्वको परियोजना मानिएको पोखरा विमानस्थल निर्माणमा निर्णय गर्ने, प्रक्रिया अगाडि बढाउने तथा सार्वजनिक रकम विनियोजन गर्ने तहका उच्च अधिकारीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको हो।

मुद्दा दायर हुनेहरूमा पूर्वमन्त्रीदेखि पूर्वमहानिर्देशकसम्म

मुद्दामा संलग्न भनिएका व्यक्तिहरूमध्ये—

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू

स्व. पोष्टबहादुर बोगटी

रामकुमार श्रेष्ठ

भीमप्रसाद आचार्य

दीपक चन्द्र अमात्य

तत्कालीन अर्थमन्त्री

रामशरण महत

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू

त्रिरत्न महर्जन

रतीशचन्द्र लाल सुमन

प्रदीप अधिकारी

यस्तै विभिन्न समयमा परियोजनासँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सचिवहरू, विभागीय प्रमुखहरू र प्राविधिक कर्मचारीहरूलाई पनि प्रतिवादी बनाइएकाे आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए।

८ अर्बभन्दा बढीको ‘अनियमितता’

अख्तियारले सार्वजनिक गरेको विवरणअनुसार—

ठेक्का प्रक्रिया

लागत अनुमान

कार्यान्वयन निरीक्षण

भुक्तानी स्वीकृति
लगायतका चरणमा उच्चस्तरीय हेरफेर तथा आर्थिक अनियमितता देखिएको छ।आयोगले सबै प्रमाणसहित विशेष अदालतमा मुद्दा दायर गर्दै दोषी प्रमाणित भए कानुनअनुसार कडा कारबाही हुने जनाएको छ।

पृष्ठभूमि

चिनियाँ सहयोगमा निर्माण सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरीमा औपचारिक रूपमा सञ्चालनमा आएको थियो। तर निर्माण–सम्बन्धी विवाद, लागत बढोत्तरी र पारदर्शिताका प्रश्नहरू वर्षौंदेखि उठ्दै आएका थिए।

राष्ट्रिय समाचार समिति (रासस)

सम्पर्कमा रहनुहोस्