चैत्र १७, २०८२
✍️ रिपोर्टर: सुनील सिंह
काठमाडौँ — काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल लाई मंगलबार पक्राउ गरिएको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार छवि रिजाल माथि गत भदौ २३ र २४ गते भएको “जेनजी आन्दोलन” का क्रममा दमन गरेको आरोपमा अनुसन्धान सुरु गरिएको छ। सो घटनासँग सम्बन्धित उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।उक्त आन्दोलनका बेला उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। आन्दोलनका क्रममा सुरक्षा निकायले बल प्रयोग गरेको भन्दै त्यसबेला विभिन्न पक्षबाट आलोचना भएको थियो।हाल उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक प्रमाण संकलन तथा सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्ने काम जारी रहेको बताइएको छ।यस घटनाले राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा पाएको छ। सरोकारवाला निकायहरूले भने निष्पक्ष छानबिन हुने बताएका छन्।