जेष्ठ २८, २०८३
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालको चीन भ्रमणको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको छ भने भ्रमणको औपचारिक मिति र विस्तृत तालिका छिट्टै सार्वजनिक गरिनेछ । मन्त्री खनालले गएको साता मात्रै भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरेका थिए।
बुधबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले आफ्नो हालैको भारत भ्रमण फलदायी र उपलब्धिमूलक रहेको दाबी गरे। द्विपक्षीय हितका विविध विषयमा भारतीय समकक्षीसँग सकारात्मक र महत्त्वपूर्ण छलफल भएको उनको भनाइ थियो।
परराष्ट्र नीतिमा साझा धारणाको आवश्यकता अन्तरक्रियाका क्रममा मन्त्री खनालले नेपालको राष्ट्रिय हितका विषयमा राज्यका प्रमुख अंग र सरोकारवालाहरूबीच ऐक्यबद्धता हुनुपर्नेमा जोड दिए। "परराष्ट्र नीति र राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दल, राज्यका निकाय तथा सञ्चार क्षेत्रबीच एउटा साझा धारणा (National Consensus) बन्नु आवश्यक छ," उनले भने।
सुधारका योजना: नियोग सुदृढीकरणदेखि राहदानीसम्म आफ्नो कार्ययोजनाबारे प्रष्ट पार्दै परराष्ट्रमन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूमा आवश्यकताअनुसार जनशक्ति र पूर्वाधार थप गरी सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। यस्तै, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (IFA) लाई थप प्रभावकारी र अनुसन्धानमुखी बनाउने उनको योजना छ।
पछिल्लो समय नागरिक स्तरमा सास्तीको विषय बनिरहेको राहदानी (पासपोर्ट) वितरण प्रणालीबारे बोल्दै उनले राहदानीको बायोमेट्रिक प्रणालीमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरूलाई तत्काल समाधान गर्ने योजना रहेको जानकारी दिए।