पुस ३, २०८२
काठमाडौं:
संयुक्त राष्ट्रसंघ स्थापना भएको ८० वर्ष पूरा भएको अवसरमा नेपालले संयुक्त राष्ट्रसंघसँगको साझेदारीको ७०औँ वर्षगाँठ भव्य रूपमा मनाएको छ। डिसेम्बर १९ मा आयोजित समारोहले नेपाल–यूएन सम्बन्धको सात दशक लामो यात्रालाई स्मरण गर्दै शान्ति, विकास र विश्वव्यापी जिम्मेवारीमा नेपालको योगदानलाई उजागर गरेको छ।नेपाल १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेसँगै सुरु भएको सहकार्यले सात दशक पार गरिसकेको छ। यस अवधिमा नेपाल संयुक्त राष्ट्रसंघको सहयोगबाट विकासका विविध क्षेत्रमा लाभ लिँदै आएको छ भने विश्व शान्ति स्थापनामा सक्रिय योगदानकर्ता राष्ट्रको रूपमा पनि स्थापित भएको छ।संयुक्त राष्ट्र भवनमा आयोजित ‘यूएन डे २०२५’ समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार, नागरिक समाज तथा संयुक्त राष्ट्रसंघको देशीय टोलीको सहभागिता रहेको थियो। सहभागीहरूले नेपाल–यूएन साझेदारीका उपलब्धि र भावी प्राथमिकतामाथि विचार विमर्श गरेका थिए।संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिङ्गर–हाम्दीले संयुक्त राष्ट्रसंघको स्थापना सहकार्य, आशा र शान्तिको मूल्यमा आधारित भएको उल्लेख गर्दै शान्ति नै दिगो विकासको आधार भएको बताइन्। उनले गरिबी न्यूनीकरण, मातृ तथा बाल स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, वन पुनःस्थापना, नवीकरणीय ऊर्जा र २०१५ को भूकम्पपछिको पुनर्निर्माणमा भएको प्रगतिलाई स्मरण गरिन्।कार्यक्रममा नेपालको शान्ति सैनिक योगदानलाई विशेष सम्मान दिइयो। विश्वका अग्रणी शान्ति सैनिक योगदानकर्ता राष्ट्रहरूमध्ये नेपालले कठिन र संवेदनशील क्षेत्रहरूमा निरन्तर शान्ति सैनिक पठाउँदै आएको छ। प्रधानसेनापति अशोक राज सिग्देलले यस योगदानलाई सेवा, त्याग र ऐक्यबद्धताको राष्ट्रिय मूल्यसँग जोडेर व्याख्या गरे।प्रधानमन्त्री सुशीला कार्कीले बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै सहकार्य नै शान्ति, मर्यादा र साझा समृद्धिको सबैभन्दा भरपर्दो मार्ग भएको बताइन्।समारोहका क्रममा १४ भाषा तथा लिपिमा, ब्रेल लिपिसहित तयार गरिएको “यूएन नेपाल ७०” भित्तेचित्र सार्वजनिक गरिएको थियो। उक्त भित्तेचित्रले नेपालको भाषिक विविधता झल्काउनुका साथै दृष्टिविहीन व्यक्तिहरूका लागि पहुँचयोग्य पहिलो सार्वजनिक भित्तेचित्रको रूपमा नयाँ इतिहास रचेको छ।त्यसैगरी, शान्ति सैनिक स्मारकमा आयोजित माल्यार्पण कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा संयुक्त राष्ट्रसंघकी आवासीय संयोजकले शान्ति र मानवताको सेवामा ज्यान गुमाएका ८७ जना नेपाली शान्ति सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरे।सात दशक लामो नेपाल–संयुक्त राष्ट्रसंघ साझेदारी आज प्राविधिक सहयोगबाट समुदाय–केन्द्रित, समावेशी र दिगो विकासतर्फ रूपान्तरित भएको छ। बदलिँदो राष्ट्रिय आवश्यकता र विश्व चुनौतीका बीच यो सहकार्य आगामी दिनमा पनि शान्ति, विकास र मानव मर्यादाको साझा यात्रामा अझ सुदृढ हुने अपेक्षा गरिएको छ।