जेष्ठ १९, २०८३
काठमाडौँ । नेपालमा सञ्चालित चीन सरकारको सहयोगका कार्यक्रम तथा विकास आयोजनाहरूको प्रभावकारी कार्यान्वयन र सहजीकरणका लागि गठित संयन्त्रको तेस्रो बैठक (Third Meeting of the Mechanism for Facilitation on the Implementation of Nepal-China Cooperation Programmes and Projects) सम्पन्न भएको छ।
बैठकको सह-अध्यक्षता नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राई र चिनियाँ प्रतिनिधिले संयुक्त रूपमा गर्नुभएको थियो। बैठकमा दुई देशबीच सञ्चालनमा रहेका तथा सम्झौता भएका विभिन्न महत्त्वपूर्ण विकास निर्माणका आयोजना र द्विपक्षीय सहयोगका कार्यक्रमहरूको प्रगति समीक्षा तथा कार्यान्वयनका चुनौतीबारे सघन छलफल भएको छ।
नेतृत्व तहको समझदारी कार्यान्वयनमा जोड बैठकका क्रममा दुवै पक्षबीच नेपाल र चीनका शीर्ष नेताहरू तथा राष्ट्रप्रमुखहरूको भ्रमणका क्रममा भएका महत्त्वपूर्ण र साझा समझदारीहरूलाई द्रुत गतिमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। द्विपक्षीय सम्झौताहरूलाई समयमै पूर्णता दिँदै नेपाल-चीन आर्थिक तथा रणनीतिक सहयोगलाई नयाँ उचाइमा पुर्याउन दुवै देश सहमत भएका छन्।
नेपालमा चिनियाँ लगानीका पूर्वाधार, कनेक्टिभिटी (यातायात सञ्जाल), व्यापार र ऊर्जा क्षेत्रका आयोजनाहरूलाई गति दिन यो सहजीकरण संयन्त्रको बैठकलाई निकै फलदायी मानिएको छ। समयमै आयोजनाहरू सम्पन्न गर्दा दुवै देशको हित हुने र जनस्तरको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास बैठकले व्यक्त गरेको छ।