जेष्ठ २४, २०८३
काठमाडौँ । नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको गएराति भएको हत्या प्रकरणलाई लिएर पूर्व गृहमन्त्री सुधन गुरुङ अग्रसर भएका छन्। घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै उनी काठमाडौँको बालाजु प्रहरी वृत्त पुगेका हुन्।
नेपाली सेनामा कार्यरत भुजेलको गएराति 'नेपाली ब्रो' नामले चिनिने कुमार थापा मगरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनालगत्तै पूर्व गृहमन्त्री गुरुङले प्रहरी कार्यालय पुगेर अनुसन्धान प्रक्रियालाई तीव्र बनाउन र कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन तथा अनुरोध गरेका छन्।
आफ्नै निर्वाचन क्षेत्रकी बासिन्दा रहेकी मृतक ईश्वरी भुजेलको परिवारलाई भेट्न पूर्व गृहमन्त्री गुरुङ कार्यथलोमै पुगेका थिए। उनले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे विस्तृत जानकारी लिएका छन्।
पीडित परिवारलाई सान्त्वना दिँदै गुरुङले राष्ट्रको सेवामा समर्पित सैनिक जवानमाथि भएको यस्तो जघन्य अपराध क्षम्य नहुने बताए। उनले पीडित परिवारलाई न्याय दिलाउन आफू र आफ्नो पार्टी निरन्तर साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रहरीले हत्यामा संलग्न आरोपी कुमार थापा मगर (नेपाली ब्रो) लाई नियन्त्रणमा लिई घटनाको कारण र पृष्ठभूमिका बारेमा सूक्ष्म अनुसन्धान सुरु गरिसकेको जनाएको छ। बालाजु प्रहरीले घटनाको संवेदनशीलता र नेपाली सेनाका कर्मचारी जोडिएको विषय भएकाले प्राथमिकताका साथ छानबिन अघि बढाइएको स्पष्ट पारेको छ।