पुस २८, २०८२
ललितपुरको खुमलटारमा स्थापना गरिएको ग्राउन्ड स्टेशन बाट सञ्चालन हुने ‘मुनाल’ उपग्रहको प्रयोग वनस्पति (Vegetation) निगरानी, भू–उपयोग अध्ययन, वातावरणीय परिवर्तनको अवलोकन तथा स्वदेशी प्रविधिको परीक्षणका लागि गरिनेछ। साथै, यस उपग्रहबाट सङ्कलित डाटालाई कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगमार्फत प्रशोधन गरी अनुसन्धान र नीतिगत निर्णयमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।विशेषज्ञहरूका अनुसार ‘मुनाल’ उपग्रह केवल प्राविधिक परियोजना मात्र नभई नेपालमा अन्तरिक्ष विज्ञान, स्याटेलाइट प्रविधि र उन्नत अनुसन्धानको आधार तयार गर्ने महत्वपूर्ण कदम हो। यसले भविष्यमा थप स्वदेशी उपग्रह निर्माण, अन्तर्राष्ट्रिय सहकार्य र वैज्ञानिक अध्ययनका लागि ढोका खोल्ने अपेक्षा गरिएको छ।
यस परियोजनामा संलग्न विद्यार्थी र युवा वैज्ञानिकहरूले सीमित स्रोत र चुनौतीपूर्ण अवस्थाका बाबजुद अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपग्रह निर्माण गर्नु नेपाली विज्ञान क्षेत्रका लागि प्रेरणादायी उपलब्धि भएको विज्ञहरूको भनाइ छ। ‘मुनाल’ ले नेपाललाई केवल अन्तरिक्ष प्रयोगकर्ता होइन, अन्तरिक्ष प्रविधि विकास गर्ने राष्ट्र को रूपमा चिनाउने विश्वास गरिएको छ।
नेपालको अन्तरिक्ष यात्रामा ‘मुनाल’ उपग्रहको प्रक्षेपण एक ऐतिहासिक मोड सावित हुने अपेक्षा गरिएको छ, जसले विज्ञान, प्रविधि र नवप्रवर्तनमा देशको भविष्य उज्यालो बनाउने आशा थपेको छ।