पुस २७, २०८२
नुवाकोट जिल्लाको विदुर नगरपालिका–५ स्थित ऐतिहासिक देवीघाटमा अवस्थित पृथ्वी स्मारक परिसरमा आधुनिक नेपालको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकद शालिक स्थापना गरिएको छ। यो शालिकले नेपालको एकीकरण अभियानका महान् नायकप्रति श्रद्धा, सम्मान र राष्ट्रिय चेतनाको प्रतीकको रूपमा विशेष महत्व बोकेको छ।वि.सं. १७७९ साल पुस २७ गते जन्मनु भएका पृथ्वीनारायण शाहले स–साना बाइसे–चौबिसे राज्यहरूलाई एकीकरण गर्दै आधुनिक नेपालको जग बसाल्नुभएको थियो। उहाँको नेतृत्व, दूरदृष्टि र कूटनीतिले नेपाललाई एक सार्वभौम राष्ट्रका रूपमा स्थापित गर्यो।
देवीघाट ऐतिहासिक रूपमा अत्यन्तै महत्वपूर्ण स्थान हो। यही स्थानमा वि.सं. १८३१ माघ १ गते पृथ्वीनारायण शाहको निधन भएको थियो। त्यसैले देवीघाटलाई राष्ट्रनिर्माताको अन्तिम समय बिताएको पवित्र भूमि मानिन्छ। यहाँ निर्माण गरिएको पृथ्वी स्मारक र शालिकले इतिहास, राष्ट्रभक्ति र सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ।
पूर्णकदको शालिकले पृथ्वीनारायण शाहको व्यक्तित्व, साहस र राष्ट्रनिर्माणप्रतिको अटुट प्रतिबद्धता झल्काउँछ। स्मारक परिसरमा आउने विद्यार्थी, इतिहासप्रेमी, स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि यो स्थल शैक्षिक, सांस्कृतिक र राष्ट्रिय चेतनाको केन्द्र बनेको छ।
स्थानीय सरकार र सरोकारवालाहरूले पृथ्वी स्मारक क्षेत्रको संरक्षण, सौन्दर्यीकरण र पर्यटन प्रवर्द्धनमा जोड दिँदै आएका छन्। यस क्षेत्रलाई राष्ट्रिय ऐतिहासिक धरोहरका रूपमा विकास गर्नुपर्ने आवाज पनि उठिरहेको छ।
तस्बिर: रामहरि न्यौपाने / रासस