निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ

फाल्गुन ६, २०८२

काठमाडौँ, — निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव ऋषि कट्टेललाई प्रहरीले पक्राउ गरेको छ। कट्टेललाई काठमाडौँको कीर्तिपुर क्षेत्रबाट आज पक्राउ गरिएको हो।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार कट्टेलसहित निर्वाचन बहिष्कार तथा निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा हालसम्म चार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको उहाँले जानकारी दिनुभयो।प्रहरीका अनुसार मंगलबार राति नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना तथा दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि पक्राउ गरिएको हो। उनीहरूले सार्वजनिक रूपमा निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिएको प्रहरीको दाबी छ।प्रहरी स्रोतका अनुसार ती व्यक्तिहरूले निर्वाचन प्रक्रिया अवरोध गर्ने उद्देश्यले विभिन्न स्थानमा भेला, अभिव्यक्ति तथा गतिविधि गरिरहेको सूचनाका आधारमा निगरानी बढाइएको थियो। प्रारम्भिक अनुसन्धानपछि सम्भावित शान्ति–सुरक्षा जोखिमलाई ध्यानमा राख्दै पक्राउ गरिएको जनाइएको छ।नेकपा, नेकपा (बहुमत) लगायत केही साना राजनीतिक दल तथा समूहहरूले निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै बहिष्कारको घोषणा गरेको र त्यससँग सम्बन्धित गतिविधि गरिरहेको भन्दै सुरक्षा निकायले उनीहरूलाई उच्च निगरानीमा राखेको बताइएको छ। प्रहरीका अनुसार निर्वाचनको स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न यस्ता गतिविधिमाथि कडाइ गरिएको हो।हाल पक्राउ परेकाहरूलाई प्रचलित कानुनअनुसार अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि कुन–कुन कानुनी दफाअन्तर्गत मुद्दा चलाइने भन्ने विषय अनुसन्धानपछि टुंगो लाग्ने बताइएको छ।यस घटनाले निर्वाचनको समय नजिकिँदै जाँदा राजनीतिक असन्तुष्टि र विरोधका गतिविधि तीव्र बन्दै गएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ। यद्यपि पक्राउ परेका नेताहरू वा सम्बन्धित दलको तर्फबाट यस विषयमा औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

सम्पर्कमा रहनुहोस्