चैत्र ३०, २०८२
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा समस्त नेपालीहरूका नाममा शुभकामना सन्देश जारी गरिबक्सँदै मुलुकको वर्तमान राजनीतिक र प्रशासनिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिबक्सेको छ।
मौसुफबाट जारी सन्देशमा विगतका दशकहरूमा भएका राजनीतिक परिवर्तन र तिनका उपलब्धिहरूको समीक्षा गर्दै देश केवल परीक्षणको थलो बनेको उल्लेख गरिबक्सेको छ। शुभकामना सन्देशमा भनिएको छ— "सधैँ प्रयोग, अभ्यास र सधैँ विकल्पको खोजीमा मात्रै हामी लाग्यौँ, फलस्वरूप हाम्रो देश प्रयोगशाला मात्रै भयो।"
राज्य सञ्चालनको बागडोर अब पुरानो ढर्राबाट मुक्त भई आधुनिक र शिक्षित पुस्ताको हातमा पुग्नुपर्नेमा श्री ५ बाट विशेष जोड दिइबक्सेको छ। मौसुफको अटल विश्वास छ कि:
"राजनीति र राज्य सञ्चालनमा पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्छ।"
सन्देशको अन्त्यमा, श्री ५ बाट सबै नेपालीले न्याय, शान्ति र सुख पाउनुपर्ने अभिलाषा व्यक्त गरिबक्सँदै देशको मौलिक पहिचान जोगाउनु नै अहिलेको प्रमुख राष्ट्रिय दायित्व भएको स्मरण गराइबक्सेको छ। युवा पुस्ताको सामर्थ्य र उत्साहप्रति मौसुफले उच्च भरोसा प्रकट गरिबक्सँदै नयाँ वर्षको मङ्गलमय शुभकामना बक्स भएको छ ।