दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता, अदालतबाट ३ दिनको म्याद थप

जेष्ठ ६, २०८३

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जबाट सोमबार बेलुकी पक्राउ परेका विवादित मेडिकल व्यवसायी एवं 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' का संयोजक दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो।

मंगलबार साँझ पर्सा प्रहरीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईंलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको र अनुसन्धानका लागि तीन दिनको म्याद थप अनुमति प्राप्त भएको जनाएको छ।

के छ प्रहरीको आरोप?

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार प्रसाईंले विभिन्न जातजाति र सम्प्रदायबीचको आपसी सम्बन्ध र सद्भावलाई खलल पुर्‍याउने कार्य गरेका थिए। साथै, सरकारप्रति घृणा र द्वेष फैलाउने खालका अमर्यादित एवं उत्तेजक अभिव्यक्ति दिएका कारण उनलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले प्रस्ट पारेको छ।

होटलबाट यसरी गरियो पक्राउ

सोमबार काठमाडौँबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका प्रसाईंले त्यहाँस्थित सिद्धार्थ दियालो होटलमा साँझ पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलन लगत्तै बेलुकी ८ बजेतिर वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विक्रम सुवेदीको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई होटलबाटै नियन्त्रणमा लिएको थियो।

पक्राउ गर्ने क्रममा प्रसाईंका समर्थकहरूले प्रहरीको कडा प्रतिवाद गरेका थिए, जसका कारण होटल परिसरमा केही बेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो। सोमबार पक्राउ पर्दाका बखत प्रहरीले कसुरबारे सञ्चारकर्मीलाई केही नबताए पनि मंगलबार मात्रै कानुनी प्रक्रियाबारे आधिकारिक जानकारी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकको प्रदर्शन र झडप

आफ्ना नेता पक्राउ परेको विरोधमा प्रसाईंका समर्थकहरूले मंगलबार दिनभर वीरगन्जमा प्रदर्शन गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रसाईंको तत्काल रिहाइको माग गर्दै टायर बालेर प्रदर्शन गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच तनाब र धकेलाधकेल समेत भएको थियो।

विभिन्न सामाजिक तथा राजनीतिक मुद्दामा आक्रामक र उत्तेजक टिप्पणी गर्दै आएका प्रसाईंमाथि यसअघि पनि काठमाडौँमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलेको थियो। वीरगन्जमा राज्यविरुद्धको कसुर समेत थपिएपछि उनीमाथिको कानुनी संकट झन् गहिरिएको छ।

सम्पर्कमा रहनुहोस्