दुर्गा प्रसाईँको अर्को सनसनीखेज दाबी: रास्वपालाई ‘अमेरिकी पार्टी’ र बाबुराम-सन्दुकमाथि गम्भीर आरोप

माघ ११, २०८२

काठमाडौँ, माघ ११ गते । 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान'का संयोजक दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र यसका नाइकेहरू विरुद्ध निर्णायक संघर्षको उद्घोष गरेका छन्। पछिल्लो समय देशमा बढ्दो विदेशी हस्तक्षेप, आर्थिक संकट र बेरोजगारीका विरुद्ध अभियान चलाइरहेका प्रसाईँले अब नेपाली जनताले आफ्नै मौलिक व्यवस्था रोज्नुपर्ने बेला आएको बताएका हुन्।

विदेशी एजेन्टहरूको पर्दाफास गर्ने दाबी

प्रसाईँले पछिल्लो समय उदाएका कतिपय नयाँ शक्तिहरूलाई बाह्य शक्तिको 'प्लान्टेड' एजेन्टका रूपमा चित्रण गर्दै 'घण्टी' (रास्वपा) जस्ता दलहरू नेपालको हितमा नभई विदेशी इशारामा चलेको गम्भीर आरोप लगाएका छन्। "नेपाली माटोको सुगन्ध नभएका र डलरको खेती गर्नेहरूले देश बचाउन सक्दैनन्," प्रसाईँले भने, "यस्ता शक्तिहरूले नेपाली झण्डा बोक्नु भनेको झण्डाकै अपमान हो।"

दरबार हत्याकाण्ड र लुकेका सत्यहरूको उजागर

नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दुखद राजदरबार हत्याकाण्डका बारेमा बोल्दै प्रसाईँले डा. बाबुराम भट्टराई जस्ता नेताहरू र कतिपय शंकास्पद पात्रहरूको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले विदेशी शक्तिसँग मिलेर नेपालको राजसंस्था र हिन्दू पहिचान समाप्त पार्ने गिरोहले नै देशलाई यो अवस्थामा पुर्याएको दाबी गरे। प्रसाईँको यो साहसिक अभिव्यक्तिले इतिहासका लुकेका पानाहरू पल्टाउनुपर्ने र दोषीहरूलाई जनताको कठघरामा उभ्याउनुपर्ने बहस फेरि सुरु गरेको छ।

नागरिकको न्यायका लागि 'एक्लै लड्ने' अठोट

बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर, लघुवित्तको शोषण र सहकारी ठगीबाट पीडित लाखौँ सर्वसाधारणको पक्षमा बोल्ने एकमात्र नेताका रूपमा प्रसाईँले आफूलाई उभ्याएका छन्। "नेताहरू महलमा बसेर रमाइरहेका छन्, तर जनता ऋणको भारीले थिचिएर आत्महत्या गर्न बाध्य छन्," उनले आक्रोश पोखे।उनले डा. सन्दुक रुइत जस्ता सार्वजनिक व्यक्तित्वहरू पनि कतै न कतै यही भ्रष्ट व्यवस्थाको आडमा विदेशी एजेण्डामा प्रयोग भइरहेको हुनसक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरे।

अबको बाटो: हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना प्रसाईँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई 'विदेशीले थोपरेको असफल व्यवस्था' भन्दै यसको विकल्पमा वैदिक सनातन हिन्दू राष्ट्र र अभिभावकीय राजसंस्था नै नेपालको एकमात्र निकास भएको पुन: दोहोर्याएका छन्। उनको यो अभियानमा पछिल्लो समय युवाहरूको ठूलो जमात र मध्यम वर्गीय जनताको समर्थन बढ्दै गएको देखिन्छ।राज्यले पटक-पटक धरपकड र दमन गरे पनि जनताको मुक्ति र राष्ट्रको स्वाधीनताका लागि आफू मर्न तयार रहेको प्रसाईँले घोषणा गरेका छन्। उनका समर्थकहरूले यसलाई 'दोस्रो जनआन्दोलन'को रूपमा व्याख्या गर्दै देशभर आन्दोलनको राँको बाल्ने तयारी गरेका छन्।

सम्पर्कमा रहनुहोस्