माघ १४, २०८२
भिल्नियस, लिथुआनिया — डेनमार्कका राजा फ्रेडरिक एक्स र रानी मेरी लिथुआनियाको दुईदिने औपचारिक राज्य भ्रमणका लागि बुधबार भिल्नियस पुगेका छन्। जनवरी २८ देखि २९, २०२६ सम्म चल्ने यस भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।भ्रमणको पहिलो दिन लिथुआनियाको राष्ट्रपति भवनमा आयोजित औपचारिक कार्यक्रममा लिथुआनियाका राष्ट्रपति गितानास नाउस्दा र प्रथम महिला डायना नाउस्दिएने ले डेनमार्कका राजा–रानीलाई स्वागत गरे। भेटका क्रममा दुवै देशका शीर्ष नेतृत्वबीच आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ।राजकीय भ्रमणका क्रममा लिथुआनिया–डेनमार्क द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा, युरोपेली सहकार्य, ऊर्जा, व्यापार तथा सांस्कृतिक आदान–प्रदानका विषयमा विचार–विमर्श हुने कार्यक्रम रहेको छ। पछिल्लो समय युरोपेली क्षेत्रमा सुरक्षा चुनौतीहरू बढिरहेको सन्दर्भमा बाल्टिक क्षेत्र र उत्तरी युरोपका देशहरूबीच सहकार्यलाई अझ मजबुत बनाउने विषय पनि छलफलको केन्द्रमा रहने बताइएको छ।लिथुआनियाका राष्ट्रपति नाउस्दाले डेनमार्कसँगको सम्बन्ध ऐतिहासिक, भरोसायोग्य र साझा मूल्यमा आधारित रहेको उल्लेख गर्दै लोकतन्त्र, मानवअधिकार र अन्तर्राष्ट्रिय नियम–आधारित व्यवस्थाको संरक्षणमा दुवै देश एकमत रहेको बताएका छन्। डेनमार्क युरोपेली संघ र नाटोभित्र लिथुआनियाको महत्वपूर्ण साझेदार राष्ट्र मानिन्छ।डेनमार्कका राजा फ्रेडरिक एक्सले पनि लिथुआनियासँगको मित्रता र सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै बाल्टिक क्षेत्रको स्थायित्व र सुरक्षाका लागि सहकार्य आवश्यक रहेको धारणा राखेको राजकीय स्रोतले जनाएको छ।राजकीय भ्रमणका क्रममा डेनमार्कका राजा–रानीले लिथुआनियाका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्ने, साथै दुवै देशका प्रतिनिधिहरूको उपस्थितिमा विभिन्न औपचारिक कार्यक्रमहरूमा सहभागिता जनाउने कार्यक्रम छ।राजा फ्रेडरिक एक्स र रानी मेरीको यो भ्रमणले लिथुआनिया–डेनमार्क सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।
तस्बिरः पेत्रास मालुकास / एएफपी