जेष्ठ १३, २०८३
काठमाडौँ ।
राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको 'जेनजी (Gen Z) प्रदर्शन' को घटनालाई लिएर देशका उच्च पदस्थ व्यक्तित्व, राजनीतिक दलका सांसद, अभियन्ता र स्थापित सेलिब्रेटीहरूमाथि गम्भीर अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगले सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू, पूर्वपत्रकार, स्थापित युट्युबर, कलाकार र सामाजिक सञ्जालका कन्टेन्ट क्रियटरसहित ४९ जनामाथि सूक्ष्म अनुसन्धान गर्न र दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।
आयोगले आन्दोलनको अगाडि, आन्दोलनको समयमा र आन्दोलन सकिएपछि यी व्यक्तिहरूले दिएका अभिव्यक्ति, सामाजिक सञ्जालका पोस्ट, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तीचर) ले संकलन गरेको प्रतिवेदनलाई मुख्य आधार बनाएको छ ।
आयोगको सिफारिसमा भनिएको छ:
"उल्लिखित व्यक्तिहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्नू । अनुसन्धान गर्दा सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई, उनीहरूको स्वच्छ सुनुवाइको हक अधिकार सुनिश्चित गर्दै दोषी देखिए कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरिन्छ ।"
आयोगले गृह मन्त्रालयमार्फत सूक्ष्म अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सिफारिस गरेका व्यक्तिहरूमा पूर्वन्यायाधीश, बहालवाला सांसद, चर्चित कलाकार र सामाजिक अभियन्ताहरू रहेका छन् ।
अनुसन्धानको सूचीमा रहेका व्यक्तिहरू: १. सुशीला कार्की (पूर्वप्रधानन्यायाधीश) २. डा. तोषिमा कार्की (रास्वपा सांसद) ३. मनिष झा (रास्वपा सांसद) ४. हरि ढकाल (रास्वपा सांसद) ५. हिमानी राज्य लक्ष्मी सिंह (पूर्वयुवराज्ञी) ६. दुर्गा प्रसाईं ७. गणेश कार्की ८. सुलभ खरेल ९. बब्लु गुप्ता १०. रक्षा बम ११. कृष्ण कार्की १२. राजीव खत्री १३. सोम शर्मा १४. केपी खनाल १५. दीपक बोहरा १६. ज्वाला संग्रौला १७. हेमराज थापा १८. विमल पन्त १९. खेमराज साउद २०. पुरुषोत्तम यादव २१. सुधन गुरुङ (हामी नेपाल संस्थाका अध्यक्ष) २२. अमनप्रताप अधिकारी २३. विवेक थपलिया २४. सिसन बानियाँ २५. आशिका तामाङ २६. असिममान बस्नेत २७. भाग्य न्यौपाने २८. टंक दाहाल २९. भिक्टर पौडेल ३०. अंकित मल्ल ३१. उमेश बोहरा ३२. शिव यादव ३३. विनोद देउवा ३४. सरु सुनुवार ३५. भीम उपाध्याय ३६. रवि किरण हमाल ३७. निश्चल बस्नेत ३८. ओम प्रकाश अर्याल ३९. गौरी बहादुर कार्की ४०. पशुपति खड्का ४१. ऊर्जा बराल ४२. जेरी ताम्राकार ४३. हेमसागर विद्रोही ४४. बुद्ध छिरिङ ४५. सन्तोष राजावादी ४६. अमित खनाल ४७. दीपक देवकोटा ४८. गौरव बराल ४९. निशान मैनाली
आयोगले भदौ २३ र २४ गते देशैभर भएको ठुलो मानवीय र भौतिक क्षति हुनुमा भौतिक रूपमा प्रदर्शनमा उत्रिएकाहरू मात्र नभई सामाजिक सञ्जाल र सार्वजनिक मञ्चबाट भीडलाई उत्तेजित बनाउनेहरूको पनि भूमिका रहेको हुनसक्ने आशंका गरेको छ ।
नागरिकको 'स्वच्छ सुनुवाइको हक' लाई सुनिश्चित गर्दै, उनीहरूको अभिव्यक्तिले भीडलाई कानुन हातमा लिन कति दुरुत्साहन गर्यो भन्ने विषयमा अचुक प्रमाण जुटाएर मात्र कानुनी कदम चाल्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । यो सिफारिससँगै नेपाली राजनीति, सामाजिक सञ्जाल र सेलिब्रेटी वृत्तमा नयाँ तरंग पैदा भएको छ ।