छ विदेशीसहित नौ जना पक्राउ

पुस १८, २०८२

@ एम.एम. छेत्री काठमाडौँ काठमाडौँ उपत्यकाको गोदावरीमा एक म्युजिकल पार्टीमा लागुऔषध बारोबार तथा प्रयोग भइरहेको फेलापरेको छ । विशेष सूचनाका आधारमा जाँच गर्दा लागुऔषध फेला परेपछि छ विदेशीसहित नौ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जनकबहादुर शाहीले दक्षिण एसियाको विभिन्न देशहरूमा आयोजना हुने अन्डरग्राउन्ड म्युजिकल पार्टीमा दक्षिण भारतको इभेन्ट आयोजक र नेपाली नागरिकसमेतको सहभागितामा ललितपुरको गोदावरीस्थित एक रिसोर्टमा ‘महामयमन्त्र इभेन्ट’ नाम राखी ७२ घण्टा निरन्तर सञ्चालन हुने पार्टीमा लागुऔषध कारोबार भइरहेको पाइएको बताउनुभयो । उक्त पार्टी यही पुस १६ गतेदेखि चलेकामा लागुऔषधसहित नौ जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ पर्ने विदेशी नागरिकमा भारतका २१ वर्षीय केभिन जोसेफ, २६ वर्षका अभिराज कुथाडी, सादिक, अस्विन अन्तु, वैष्णव सजु, ग्रीसका डिमिट्रेयर किटोस रहेका छन् । यस्तै, चितवनको राप्तीका ३० वर्षीय पुष्पराज परियार, मोरङका २५ वर्षीय मनसुन न्यौपाने र काठमाडौँका ४० वर्षीय आदित्य अर्याल पनि पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोली र स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरूको साथबाट लागुऔषध एसएसडी छ थान, गाँजा २२.२४० ग्राम, चरेस ६१ ग्राम, एमडिएमए एक थान र म्याजिक मसरुम चार ग्राम बरामद गरिएको प्रहरीले आज एक सूचना जारी गरी जानकारी दिएको छ । उनीहरुविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतले आजै अनुसन्धानका लागि म्याद थप गरेको र अनुसन्धान थालिएको पनि उहाँले बताउनुभयो । ---

सम्पर्कमा रहनुहोस्