चलचित्र उद्योगले आर्थिक विकासमा पुर्‍याउन सक्ने योगदानतर्फ ध्यान दिन राष्ट्रपति पौडेलको आग्रह

असार ५, २०८३

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले मनोरञ्जन मात्र नभई मुलुकको आर्थिक विकासमा समेत थप योगदान पुर्‍याउन सक्ने बताउनुभएको छ। चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यसतर्फ सबै सरोकारवालाको ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो।

सोही विशेष समारोहमा नेपाली कला क्षेत्रका शिखर व्यक्तित्व एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई यस वर्षको प्रतिष्ठित ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित गरिएको छ।

मौलिक कथाले विश्व बजारमा पहिचान दिलाउने हाम्रा गाउँठाउँ, पाखापखेरा र कुनाकन्दराका सूक्ष्म कथाव्यथालाई पर्दामा उतार्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित हुने राष्ट्रपति पौडेलको भनाइ थियो। यसका लागि प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सिर्जनात्मक पक्षलाई निरन्तरता दिन उहाँले चलचित्रकर्मीहरूलाई सुझाव दिनुभयो।

"चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र होइन, यसले नागरिकमा जागरण, रूपान्तरण, चेतना र राष्ट्रप्रेमको भावना जगाउँछ," राष्ट्रपति पौडेलले भन्नुभयो, "हिमाल–पहाड–तराईको प्रकृति र सामाजिक जीवनलाई विश्व मञ्चसम्म चिनाउन सक्ने भएकाले यो हाम्रो साझा पहिचान निर्माणको बलियो आधार हो।"

नीतिगत सुधार र कलाकारको आत्मसम्मान बदलिँदो परिवेशअनुरूप नीति, कानुन, सुविधा र सहुलियतसहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाइ दिनुपर्नेमा उहाँले जोड दिनुभयो। चलचित्र क्षेत्रमा आबद्ध कलाकार तथा प्राविधिकहरूको योगदानको उचित कदर गर्दै यसै क्षेत्रमा आत्मसम्मानसहित भविष्य सुरक्षित छ भन्ने अनुभूति गराउन राज्य र सम्बद्ध निकाय लाग्नुपर्ने उहाँको भनाइ थियो।

प्रविधिको प्रयोग र बौद्धिक अधिकारको रक्षा डिजिटल प्रविधिले चलचित्र निर्माणदेखि वितरणसम्म सहजता ल्याएको चर्चा गर्दै राष्ट्रपति पौडेलले प्रविधिको प्रयोग गर्दा मौलिकता मर्न दिन नहुने बताउनुभयो। उहाँले भन्नुभयो, "प्रविधि अपनाउँदा हाम्रो मौलिक कथा, मानवीय सिर्जनशीलता, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार (इन्टेलेक्टुअल प्रोपर्टी) जोगाउनुपर्दछ भन्नेमा हामी सचेत रहनुपर्छ।"

पर्दामा सबै समुदायको समावेशी प्रतिनिधित्वको अपेक्षा चलचित्रको पर्दामा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न भूगोल र समुदायका कथाहरू सम्मानजनक, संवेदनशील र यथार्थपरक रूपमा अटाउनुपर्ने राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा अपेक्षा व्यक्त गर्नुभयो। "जब हरेक नेपालीले आफ्नो कथा पर्दामा देख्दछ, तब मात्र चलचित्र साँच्चिकै राष्ट्रिय बन्दछ," उहाँले भन्नुभयो।

सम्पर्कमा रहनुहोस्