ग्यास अभाव व्यवस्थापन गर्न आधा सिलिन्डर मात्रै वितरण गर्ने आयल निगमको निर्णय

फाल्गुन २९, २०८२

रिपोर्टर: सुनिल सिंह काठमाडौं — नेपाल आयल निगमले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव व्यवस्थापन गर्न भोलि शुक्रबारदेखि आधा सिलिन्डर ग्यास मात्रै वितरण गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा जारी युद्धका कारण ग्यास आपूर्तिमा समस्या देखिएपछि निगमले यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको जनाएको छ।निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास मात्रै खरिद गर्न पाउनेछन्। उनले आधा सिलिन्डर ग्यासको मूल्य पनि हाल कायम रहेको पूर्ण सिलिन्डरको मूल्यको आधा नै निर्धारण गरिएको जानकारी दिए।उनका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थितिका कारण ग्यासको माग बढेको छ भने आपूर्तिमा केही समस्या देखिएको छ। यस्तो अवस्थामा सीमित आपूर्तिलाई व्यवस्थित रूपमा वितरण गरी बढीभन्दा बढी उपभोक्तासम्म ग्यास पुर्‍याउने उद्देश्यले यो निर्णय गरिएको हो।भट्टका अनुसार आधा सिलिन्डर वितरणको व्यवस्था लागू भएपछि पहिलेभन्दा धेरै उपभोक्ताले ग्यास पाउने सम्भावना रहनेछ। “पहिले एक हजार उपभोक्ताले ग्यास पाउने अवस्थामा अब दुई हजार जनासम्म उपभोक्ताले ग्यास पाउन सक्नेछन्,” उनले भने।निगमले यस व्यवस्थाले बजारमा हुने अनावश्यक भण्डारण (स्टक) को प्रवृत्तिमा पनि कमी आउने विश्वास गरेको छ। भट्टका अनुसार पूर्ण सिलिन्डर हुँदा कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गरी थुपारेर राख्ने प्रवृत्ति देखिएको थियो। “आधा सिलिन्डर कसैले पनि अनावश्यक रूपमा स्टक गरेर राख्दैन। जसलाई साँच्चिकै आवश्यकता परेको छ, उसैले किन्छ,” उनले भने। निगमका अनुसार हाल देखिएको ग्यास अभावको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र आपूर्ति व्यवस्थामा आएको दबाब हो। विश्वका विभिन्न क्षेत्रमा भइरहेको युद्ध र तनावका कारण इन्धन आपूर्ति शृङ्खलामा असर परेको बताइएको छ।यसैबीच नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन सम्बन्धित आपूर्तिकर्ता कम्पनीहरू तथा ढुवानी व्यवस्थासँग समन्वय गरिरहेको जनाएको छ। निगमले बजारमा ग्यासको आपूर्ति क्रमशः सुधार हुने विश्वास पनि व्यक्त गरेको छ।निगमका अनुसार आधा सिलिन्डर वितरणको यो व्यवस्था अस्थायी रूपमा लागू गरिनेछ। अन्तर्राष्ट्रिय अवस्था सामान्य हुँदै ग्यास आपूर्ति नियमित भएपछि पुनः पुरानै प्रणालीअनुसार पूर्ण सिलिन्डर वितरण गरिने निगमले जनाएको छ।यस निर्णयले बजारमा देखिएको ग्यास अभाव केही हदसम्म कम हुने र बढी उपभोक्तासम्म ग्यास उपलब्ध गराउन सहज हुने अपेक्षा निगमले गरेको छ।  

सम्पर्कमा रहनुहोस्