पुस २१, २०८२
गोरखा, संवाददाता : सुनिल सिंह महत
नेपाल एकीकरण अभियानका क्रममा प्रयोग गरिएको ऐतिहासिक पदमार्गलाई संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले सञ्चालन गर्ने एकीकरण पदयात्राको सातौँ शृङ्खला आजदेखि औपचारिक रूपमा सुरु भएको छ।आज बिहान गोरखा दरबार परिसरस्थित हनुमान भञ्ज्याङबाट पदयात्रा प्रारम्भ गरिएको हो। टोली पुस २७ गते काठमाडौँको हनुमानढोका दरबार पुग्नेछ।उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, नेपाली सेनाका पृतनापछि भोलानाथ थापा, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठलगायतको उपस्थिति थियो।नेपाली सेनाको गोरखास्थित रुद्रध्वज गणको नेतृत्वमा रहेको टोलीलाई टर्च र सेनाका ऐतिहासिक पाँच कम्पनी — श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गण — का झन्डा हस्तान्तरण गर्दै पदयात्रा शुभारम्भ गरिएको गणपति विरोध रिजालले जानकारी दिए।पदयात्रा क्रमशः पीपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटबेँसी पुग्नेछ र त्यहाँ धादिङस्थित सेनाको टोलीलाई टर्च तथा झन्डा हस्तान्तरण गरिनेछ। त्यसपछि धादिङले नुवाकोट, नुवाकोटले काठमाडौँस्थित गणलाई यात्रा हस्तान्तरण गर्ने कार्यक्रम छ।पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते हनुमानढोका दरबारमा हुने विशेष कार्यक्रममा सहभागिता जनाउन टोली पुस ২৬ गते साँझसम्म हनुमानढोका पुग्ने तालिका रहेको सेनाले जनाएको छ। यस वर्ष ३०४औँ पृथ्वी जयन्ती मनाइँदैछ।नेपाली सेनाका अनुसार, २०७६ सालदेखि सुरु गरिएको एकीकरण पदयात्राले मार्गअन्तर्गत रहेका ऐतिहासिक स्मारक, कोट र गढीको संरक्षण, प्रचारप्रसार र विकासमा योगदान पुर्याउने उद्देश्य राखिएको छ।