जेष्ठ १८, २०८३
रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को उपाधि जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै साविक विजेता आरसीबीले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो।
पहिलो उपाधि जित्न १८ वर्ष लामो प्रतीक्षा गरेको आरसीबी साविक विजेताको रूपमा आइपीएलको उपाधि रक्षा गर्ने इतिहासकै तेस्रो टोली बनेको छ।
विराट कोहलीको सानदार अविजित इनिङ्स गुजरातले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको आरसीबीले १८ ओभरमा ५ विकेट गुमाउँदै १६१ रन बनाएर लक्ष्य पूरा गर्यो। आरसीबीको जितमा नायक बनेका ओपनर ब्याटर विराट कोहलीले ७५ रनको विष्फोटक र अविजित पारी खेले। उनले मात्र ४२ बलको सामना गर्दै ९ चौका र ३ छक्का प्रहार गरे।
त्यसअघि आरसीबीलाई बलियो सुरुवात दिलाउने क्रममा विराट र वेंकटेश अय्यरले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। अय्यरले १६ बलमा ३२ रन बनाए। यस्तै, टिम डेविडले २४, कप्तान रजत पाटीदारले १५ र जितेश शर्माले अविजित ११ रनको योगदान दिए। गुजरातका लागि बलिङतर्फ रासिद खानले २ तथा मोहम्मद सिराज, कागिसो राबाडा र अर्सद खानले १–१ विकेट लिए।
गुजरातको मध्यक्रम ध्वस्त: सुन्दरको अर्धशतक पनि जोगिएन त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो। सुरु देखि नै ब्याटिङ कोल्याप्स (ध्वस्त) को समस्या झेल्दै आएको गुजरातका लागि फाइनलमा पनि सोही समस्या दोहोरियो। ओपनरद्वय साई सुदर्शन (१२ रन) र कप्तान शुभमन गिल (१० रन) सस्तैमा आउट भएपछि गुजरात दबाबमा परेको थियो।
मध्यक्रमका ब्याटरहरू निशान्त सिन्धुले २० र जोस बट्लरले १९ रन बनाएर आउट भए। संकटका बीच वासिङ्टन सुन्दरले ५० रनको अविजित अर्धशतकीय पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। सुन्दरले ९ ओभरको अन्तिम बलमा ४ रनमा छँदा जीवनदान पाएका थिए, जसलाई थर्ड अम्पायरले 'नटआउट' घोषणा गरेका थिए।
गुजरातलाई कम स्कोरमा रोक्न आरसीबीका रसिक सलामले घातक बलिङ गर्दै सर्वाधिक ३ विकेट लिए। यस्तै अनुभवी बलर भुवनेश्वर कुमार र जोश ह्याजलवुडले २–२ विकेट लिँदा क्रुणाल पाण्ड्याले १ विकेट चट्काए।
अवार्डहरू: वैभव सूर्यवंशी 'प्लेयर अफ द सिरिज' उपाधि आरसीबीले जिते पनि यस सिजनको 'प्लेयर अफ द सिरिज' र 'इम्प्याक्टफुल ब्याटर' को उपाधि भने राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले हात पारे। उनले १६ खेलमा ७७६ रन बनाएका थिए।
त्यस्तै, प्रतियोगिताको 'इम्प्याक्टफुल बलर' को उपाधि विजेता टोली आरसीबीका भुवनेश्वर कुमारले जिते। उनले १६ खेलमा कुल २८ विकेट लिँदै टोलीलाई च्याम्पियन बनाउन मुख्य भूमिका खेले।