जेष्ठ १५, २०८३
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रले राज्य सत्ता र शक्तिको स्रोत पूर्ण रूपमा नागरिकलाई मानेको बताएका छन्। १९ औँ गणतन्त्र दिवस २०८३ को अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै सर्वोत्कृष्ट राजनीतिक व्यवस्था भएको दाबी गरे।
उनले जनता आफैँले बनाएको संविधानमार्फत संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताहरूले सिञ्चित गरेर यस व्यवस्थालाई अझ उन्नत बनाइएको उल्लेख गरे। "यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ र हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रूपमा अभिलेखन गरेको छ," राष्ट्रपति पौडेलले भने, "यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुर्याएको छ।"
राष्ट्रपति पौडेलले गणतन्त्रले सम्पूर्ण नागरिकलाई राजनीतिक अधिकारको ग्यारेन्टी गर्दै देशवासीलाई एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको बताए। मुलुकको विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भई बलियो जनादेशसहितको सरकार बनेको भन्दै उनले वर्तमान सरकारको कामप्रति आशा व्यक्त गरे।
उनका अनुसार नयाँ सरकारले जनताको चाहनाअनुसार समृद्धिका लागि निम्न विषयलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको छ:
सुशासन र सार्वजनिक सेवा प्रवाहमा सुधार
आर्थिक पुनरुत्थान
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता (Zero Tolerance)
सामाजिक उन्नति
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले देशको आन्तरिक बेथितिमाथि कडा टिप्पणी गरे। उनले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरू कोही नभएर प्रशासनिक ढिलासुस्ती, अनियमितता र वेथिति भएको ठहर गरे।
उनले नेता र दलहरूलाई सचेत गराउँदै भने:
"जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन। लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यी बेथितिहरूले निराश नबनाओस् भन्नेमा हाम्रो चिन्ता हुनुपर्दछ।"
नागरिकले सुशासनसहितको समृद्धि खोजेकाले अब स्रोतहरूको उच्चतम प्रयोग गर्न र शासकीय चरित्र बदल्न ढिलाइ गर्न नहुने राष्ट्रपतिको भनाइ थियो। उनले राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन आह्वान गरे।
"हाम्रा राजनीतिक दल, हाम्रो सरकार, र हाम्रो नेतृत्व सृजनशील, विनयशील, जनउत्तरदायी तथा चरित्रवान हुनैपर्दछ," राष्ट्रपति पौडेलले थपे, "हाम्रा शासकीय संरचना र राज्यअंगहरूलाई गतिशील र परिणाममुखी बनाउँदै हामीले सुशासनको प्रत्याभूति दिनै पर्दछ।"
स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिमको जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले यस व्यवस्थामा जनताले आफ्नै घरआँगनबाट सार्वभौमिकताको अभ्यास गरिरहेको दाबी गरे। नागरिकका गुनासाहरूलाई शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने यस्तो उन्नत अभ्यासले लोकतन्त्रको जरा बलियो बनाएको र 'लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन्' भन्ने मान्यता स्थापित गरेको उनले बताए।
आजभन्दा ठिक १९ वर्ष अगाडि नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको ऐतिहासिक दिनको स्मरण गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गरे।