कर्मचारीको अनियमित कमाइमा रोक

चैत्र १८, २०८२

✍️ रिपोर्टर: सुनील सिंह

कञ्चनपुर, १८ चैत — यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा आर्थिक ठगी हुन थालेको गुनासो बढेपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो।कार्यालयका निमित्त प्रमुख रवीन्द्र चौधरी का अनुसार केही व्यक्तिहरूले सवारीसाधनको बीमा बनाइदिने, नवीकरण गरिदिने, निरोगिता प्रमाणपत्र बनाइदिनेलगायत सेवा गरिदिने भन्दै सेवाग्राहीलाई प्रलोभनमा पार्ने, अतिरिक्त रकम लिने तथा हैरानी दिने गरेको जनगुनासो पटक–पटक प्राप्त भएको थियो।उनका अनुसार यस्ता गतिविधिले कार्यालयबाट प्रवाह हुने सेवामा अव्यवस्था तथा ढिलासुस्तीसमेत निम्त्याएको छ। यदि कसैले निषेधित क्षेत्रमा प्रवेश गरी सेवाग्राहीलाई दुःख दिने वा गैरकानुनी कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने चेतावनी दिइएको छ।कार्यालयले सेवाग्राहीलाई आफ्नो कामका लागि सिधै सम्बन्धित शाखा वा कर्मचारीसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै कुनै पनि सेवा लिन बिचौलियाको आवश्यकता नपर्ने र तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नतिर्न अनुरोध गरिएको छ।कार्यालयका अनुसार बिचौलिया नियन्त्रणपछि सेवाग्राहीले अनावश्यक झन्झट तथा अतिरिक्त खर्चबाट मुक्ति पाउने र सेवा प्रवाह थप व्यवस्थित, छिटो तथा पारदर्शी हुने अपेक्षा गरिएको छ।

सम्पर्कमा रहनुहोस्