जेष्ठ २५, २०८३
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले अवरोध गरेका छन्। आजको बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्न बाँकी छँदै प्रतिपक्षी दलहरूले आसनबाट उभिएर विरोध जनाएपछि संसद्मा गतिरोध उत्पन्न भएको हो।
विगत झण्डै एक हप्तादेखि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति र प्रतिनिधि सभाको नयाँ नियमावली पारितको विषयलाई लिएर संसद् अवरुद्ध हुँदै आएको छ। जसका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल समेत सुरु हुन सकेको छैन। विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिको तथ्य पेस गर्नुपर्ने र विनातथ्य बोलेको भए माफी माग्नुपर्ने अडानलाई आज पनि निरन्तरता दिएका छन्।
वेबसाइटमा करका दर हेरफेर भएको भन्दै विरोधको तयारी संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि ‘सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ समेत आजै दिने कार्यसूची तय थियो। तर, संसद्मा पेस गरिएको आधिकारिक दस्ताबेजभन्दा फरक ढंगले मन्त्रालयको वेबसाइटमा करका दरहरू पटक-पटक हेरफेर गरिएको भन्दै विपक्षी दलहरूले यस विषयमा कडा विरोध गर्ने र छानबिनको माग गर्ने तयारी गरेका छन्।
के-के छन् आजका मुख्य कार्यसूचीहरू? संसद्मा जारी अवरोधका बीच आजका लागि तय गरिएका मुख्य कार्यसूचीहरू निम्न बमोजिम रहेका छन्:
आर्थिक विधेयकहरू पेस: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ संसद्मा पेस गर्ने कार्यसूची छ।
पर्यटन विधेयक समितिमा पठाइने: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारीले राष्ट्रिय सभाबाट पारित भइसकेको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ।
अन्तर्राष्ट्रिय महासन्धी पेस: युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का दुईवटा महत्त्वपूर्ण महासन्धी तथा प्रोटोकलहरू सदनमा पेस गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफीको माग र बजेटमा करका दर अनाधिकृत रूपमा चलाइएको नयाँ विवाद सतहमा आएपछि बजेट अधिवेशनको कार्यसूची नै अन्योलमा परेको छ। प्रतिपक्षले आफ्ना माग पूरा नभएसम्म सदन चल्न नदिने अडान राखेका कारण आजको बैठक अगाडि बढ्ने सम्भावना न्यून देखिएको छ।