जेष्ठ ३१, २०८३
वासिङ्टन र इस्लामाबाद (एजेन्सीहरू) विगत चार महिनादेखि भीषण सैन्य द्वन्द्वमा होमिएका संयुक्त राज्य अमेरिका र इरान ऐतिहासिक शान्ति सम्झौताको अन्तिम बिन्दुमा पुगेका छन्। दुवै देशबीच युद्ध अन्त्य गर्ने सम्झौताको मस्यौदा (MOU) तयार भइसकेको र आगामी २४ घण्टाभित्रै डिजिटल माध्यमबाट प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने मध्यस्थकर्ता राष्ट्रहरूले दाबी गरेका छन् ।
यस ऐतिहासिक वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका निभाpageइरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले दुवै पक्ष इतिहासमै पहिलोपटक शान्ति सम्झौताको सबैभन्दा नजिक पुगेको पुष्टि गरेका छन्। इस्लामाबादबाट सन्देश जारी गर्दै उनले दुवै देशबीच सहमति जुटेको र अब डिजिटल (इलेक्ट्रोनिक) माध्यमबाट सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले पनि अमेरिकासँगको लडाइँ अन्त्य गर्ने यो प्रयास निकै सकारात्मक मोडमा पुगेको र आउँदा केही दिनभित्रै औपचारिक घोषणा हुन सक्ने बताएका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताकारहरूले ठूलो सहमति कायम गरेको उल्लेख गर्दै इरानविरुद्ध तय गरिएका सैन्य आक्रमणहरू तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति ट्रम्पले सम्झौता सकारात्मक रूपमा अघि बढ्ने अपेक्षा गरे पनि इरानले सर्त उल्लंघन गरे 'अन्तिम विकल्प' खुला रहने चेतावनी समेत दिएका छन्।
प्रस्तावित प्रारम्भिक सम्झौता मुख्य रूपमा ६० दिनको अस्थायी युद्धविराम र रणनीतिक लेनदेनमा आधारित छ:
हर्मुज जलमार्ग खुला गरिने: इरानले अन्तर्राष्ट्रिय व्यापारका लागि निकै महत्वपूर्ण मानिने र विगत केही समयदेखि ठप्प पारेको ‘हर्मुज जलडमरू मध्य’ (Strait of Hormuz) को जलमार्गलाई तत्काल खुला गर्नेछ।
नाकाबन्दी र प्रतिबन्ध फुकुवा: त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाह र ढुवानी जहाजहरूमाथि लगाउँदै आएको नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाउनेछ।
६० दिनको विशेष वार्ता अवधि: यो प्रारम्भिक सहमति लागू भएसँगै दुवै देशबीच ६० दिनको अस्थायी युद्धविराम र विशेष वार्ता अवधि सुरु हुनेछ, जसअन्तर्गत इरानको आणविक कार्यक्रम र युरेनियम नष्ट गर्ने ठोस प्रक्रियाबारे विस्तृत छलफल गरिनेछ।
आणविक हतियारमा पूर्ण बन्देज: सम्झौताको मस्यौदाअनुसार इरानले भविष्यमा कहिल्यै आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउनुपर्नेछ।
प्रोक्सी समूहलाई सहयोग बन्द: मध्यपूर्वमा हिजबुल्लाह लगायतका आफ्ना प्रोक्सी समूहहरूलाई दिँदै आएको आर्थिक र सैन्य सहयोग इरानले बन्द गर्नुपर्नेछ।
अमेरिकी अधिकारीहरूको कडा अडान: अमेरिकी प्रशासनले यो सम्झौता आश्वासनमा नभई इरानको ‘कामको नतिजा’ (Performance-based) मा आधारित हुने स्पष्ट पारेको छ। इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेको पूर्ण रूपमा प्रमाणित भएपछि मात्रै अमेरिका र उसका सहयोगी राष्ट्रहरूले रोक्का राखेको अर्बौँ डलर बराबरको सम्पत्ति फुकुवा गरिनेछ।
लामो समयको सैन्य टकराव, तत्कालीन सर्वोच्च नेताको हत्या र चौतर्फी आर्थिक दबाबपछि इरान यो सम्झौताका लागि तयार भएको विश्लेषकहरूको भनाइ छ। यद्यपि, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदभित्र सम्झौताका सर्तहरू (विशेष गरी आणविक भण्डार नष्ट गर्ने र प्रोक्सी समूहको समर्थन फिर्ता लिने बिन्दु) लाई लिएर केही आन्तरिक मतभेदहरू अझै कायम छन्।
यता इजरायल यो वार्ता प्रक्रियामा प्रत्यक्ष सामेल नभए पनि अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच यस विषयमा पूर्ण सहमति भइसकेको बताइएको छ।
विश्व बजारमा इन्धन र ऊर्जाको मूल्य स्थिर राख्न, तेल आपूर्तिको चोक-पोइन्ट मानिने हर्मुज जलमार्ग सुरक्षित गर्न तथा मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न यो सम्झौता कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ। सम्झौतामा हस्ताक्षर भएलगत्तै आगामी हप्तादेखि प्राविधिक तहको वार्ता सुरु हुने मध्यस्थकर्ताहरूले जनाएका छन्।