जेष्ठ २५, २०८३
सिङ्गापुरमा जारी एसियन गेम्स २०२६ को पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। सिङ्गापुरको सिङ्गा ओभल मैदानमा भएको फाइनल भिडन्तमा हङकङलाई डकवर्थ लुइस (डीएल) पद्धतिअनुसार १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। यस उपाधिसँगै नेपाल प्रतियोगिताभरि अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको छ।
हङकङको बलियो योगफल: अन्सुमनको आक्रामक ८० रन टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको बलियो योगफल खडा गरेको थियो। हङकङका लागि ओपनर ब्याटर अन्सुमन राथले सर्वाधिक ८० रनको आक्रामक पारी खेले। उनले मात्र ४५ बलको सामना गर्दै समान ६ चौका र ६ छक्का प्रहार गरे।
सुरुवाती दुई विकेट सस्तैमा गुमाएको हङकङका लागि अन्सुमनले एकतर्फबाट इनिङ्स सम्हालेका थिए। उनले तेस्रो विकेटका लागि शिव माथुर (२६ रन) सँग ४८ रनको र चौथो विकेटका लागि विकेटकिपर ब्याटर साहिद वासिफसँग ८४ रनको महत्त्वपूर्ण साझेदारी गरे। वासिफले ५५ रनको अर्धशतकीय पारी खेले। त्यसपछिका ब्याटरहरूले भने दोहोरो अङ्क छुन सकेनन्।
नेपालका लागि बलिङतर्फ स्पिनर शेर मल्लले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। त्यस्तै, करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट झारे।
नेपालको जवाफी ब्याटिङ र वर्षाको अवरोध हङकङले दिएको १८९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्यो। नेपालले ११.३ ओभरमा २ विकेटको क्षतिमा ११४ रन बनाएको अवस्थामा भारी वर्षा भएपछि खेल रोकिएको थियो। त्यसपछि खेल सम्भव नभएपछि डीएल पद्धतिका आधारमा नेपाललाई १९ रनले विजयी घोषित गरियो।
नेपालको जितमा ओपनर कुशल भुर्तेल नायक बने। उनले ४० बलमा ८ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६५ रनको सानदार इनिङ्स खेले। खेल रोकिँदासम्म कप्तान रोहित कुमार पौडेल ३५ रन र कप्तान दिपेन्द्र सिंह ऐरी ९ रनमा अविजित थिए। हङकङका लागि आयुष शुक्ला र इशान खानले १–१ विकेट लिए।
कप्तान दिपेन्द्रको १०० औँ खेलमा ऐतिहासिक उपाधि यो फाइनल खेल नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीका लागि व्यक्तिगत रूपमा पनि ऐतिहासिक रह्यो। उनको यो १०० औँ टी-२० अन्तर्राष्ट्रिय खेल हो। आफ्नो १०० औँ खेलमा टोलीलाई कप्तानी गर्दै अपराजित रूपमा एसियन गेम्स छनोटको उपाधि दिलाएर दिपेन्द्रले यस खेललाई थप यादगार बनाएका छन्। नेपाल र हङकङ दुवै टोली यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका छन्।