एनपिएलः सुखद् अन्त्य हुँदा खुसी छौँः कप्तान भुर्तेल

मंसिर २०, २०८२

काठमाडौँ,  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुखद् अन्त्य गरेको छ । आजको खेलमा पोखराले चितवन राइनोजलाई आठ विकेटले हराएको थियो । पोखरा–६ अङ्क जोड्दै पाँचौँ स्थानमा तथा चितवन चार अङ्कका साथ प्रतियोगिताको छैटौँ स्थानमा रह्यो । दुवै टोली प्लेअफ पुग्न सकेनन् । आजको खेलमा जित हासिल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखराका कप्तान कुशल भुर्तेलले प्रतियोगितामा सुखद् अन्त्य गर्दा खुसी लागेको बताए । उनले भने, “प्लेअफ पुग्न नसके पनि सुखद् अन्त्य गरेका छौँ, खुसी छौँ । हामीले गत वर्षभन्दा सुधारिएको प्रदर्शन गरेका छौँ ।” समग्रमा प्रतियोगिता सफल भएको उनले बताए । विदेशी खेलाडीसँग अनुभव साटासाट गर्न पाउनुका साथै मैदानमा पहिलोपटक फ्लडलाइटमा खेल्न पाएको उनको भनाइ थियो । चितवनका कप्तान कुशल मल्लले टोलीको सबै पक्ष नमिल्दा प्रतियोगिताबाट बाहिरिनुपरेको बताए । उनले भने, “यस संस्करणमा हाम्रो टोलीको समीकरण मिलेन, ब्याटिङ चल्दा बलिङ नचल्ने, बलिङ चल्दा ब्याटिङ नचल्ने भएर हार बेहोर्नुपर्यो ।” विदेशी खेलाडीको भन्दा नेपालकै खेलाडीले राम्रो खेल प्रदर्शन गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ थियो । राष्ट्रिय समाचार समिति (रासस)

सम्पर्कमा रहनुहोस्