उत्तर कोरियाको लामो दूरीको मिसाइल विकास अन्तिम चरणमाः दक्षिण कोरियाली राष्ट्रपति

अशोज १०, २०८२

उत्तर कोरिया संयुक्त राज्य अमेरिकालाई आणविक हतियारले प्रहार गर्न सक्ने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) विकासको अन्तिम चरणमा पुगेको दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले चेतावनी दिनुभएको छ ।सियोल र उसका पश्चिमी सहयोगीहरूको दबाब र प्रयास असफल भइरहेका बेला प्योङयाङले आफ्नो आणविक कार्यक्रम कहिल्यै नत्याग्ने अडान दोहोर्‍याइरहेको छ ।“चाहे अमेरिकासँगको वार्तामा प्रभाव जमाउन होस् वा शासनको सुरक्षा सुनिश्चित गर्न, उत्तर कोरिया अमेरिकासम्म पुग्ने क्षमतायुक्त आणविक मिसाइल बनाइरहेको छ”, राष्ट्रपति लीले न्युयोर्क स्टक एक्सचेन्ज भ्रमणका क्रममा भन्नुभयो ।उहाँका अनुसार मिसाइलले अझै पुनः प्रवेश प्रविधि (रि–इन्ट्री टेक्नोलोजी) समाधान गर्न बाँकी छ, तर प्रगति अन्तिम चरणमा पुगेको छ र सफल हुने प्रबल सम्भावना देखिन्छ । – सम्बन्ध सुधारको वाचा – जुन महिनामा पदभार सम्हाल्नुभएका राष्ट्रपति लीले आफ्नो पूर्ववर्तीको कठोर नीतिलाई उल्टाउँदै उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने वाचा गर्नुभएको छ । तर उहाँले स्पष्ट पार्नुभयो, “आणविक विकास, आइसिबिएम प्रवद्र्धन र निर्यातलाई रोक्नु नै प्रमुख लक्ष्य हुनुपर्छ ।”उहाँले आणविक हतियारको थप उत्पादन रोक्न सक्दा ‘महत्त्वपूर्ण सुरक्षा लाभ’ प्राप्त हुने पनि बताउनुभयो । – उत्तरको क्षमताबारे आकलन – लीका अनुसार उत्तर कोरिया प्रत्येक वर्ष १५ देखि २० आणविक बम बनाउन पर्याप्त सामग्री उत्पादन गर्छ ।“यदि नियन्त्रण नगरी छोडियो भने, हरेक वर्ष यसको आणविक भण्डार बढ्दै जानेछ र मिसाइलहरू अझ उन्नत हुनेछन्”, उहाँले चेतावनी दिनुभयो । – प्योङयाङको अडान – उत्तर कोरियाली नेता किम जोङ उनले आणविक निशस्त्रीकरणलाई अस्वीकार गर्दै हाल रुससँग सैन्य सम्बन्ध बलियो बनाउनुभएको छ ।तर आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले भन्नुभयो, “हामी वासिङ्टनसँग वार्ताका लागि खुला छौँ, तर हाम्रो आणविक हतियार सुरक्षित रहने सर्तमा मात्र ।”यसरी, प्योङयाङको बढ्दो क्षमताले क्षेत्रीय सुरक्षा सङ्कट थप गहिरिँदै गएको सन्देश दिएको छ ।

सम्पर्कमा रहनुहोस्