इस्लामावादमा आत्मघाती आक्रमणमा आफ्नो संलग्नता रहेको पाकिस्तानी तालिवान समूहको दावी

कार्तिक २५, २०८२

मङ्गलबार पाकिस्तानको राजधानी इस्लामावादमा भएको आत्मघाती विस्फोटमा आफ्नो समूहको संलग्नता रहेको दावी गरेको छ। मङ्गलबार भएको उक्त आक्रमणमा १२ जनाको मृत्यु भएको बताइएको छ। “हाम्रा लडाकुहरूले इस्लामावादमा न्यायिक आयोगमाथि आक्रमण गरे। पाकिस्तानको गैर–इस्लामिक कानून अन्तर्गत फैसला गर्ने न्यायाधीश, वकिल र अधिकारीलाई निशाना बनाइएको थियो,” समूहले एक विज्ञप्ति जारी गरी घटनाको जिम्मा लिएको छ। विज्ञप्तिमा मुस्लिम बहुल देश पाकिस्तानमा ‘इस्लामिक शरिया कानून लागू नभएसम्म’ थप आक्रमणहरू गर्ने धम्की दिइएको छ। गृहमन्त्री मोहसिन नकवीले विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको यसअघि सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको थियो । उहाँले आत्मघाती विस्पोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेको बताउनुभयो । प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको थियो । –नयाँदिल्ली विस्फोटबारे अनुसन्धान जारी– सोमबार साँझ भारतको राजधानी नयाँदिल्लीको रोड फोर्ट (लाल किल्ला) नजिकै पनि एउटा कारमा शक्तिशाली विस्फोट भएको थियो । उक्त घटनाबारे छानविन भइरहेको भारतीय प्रशासनले जनाएको छ। सोमबारको विस्फोट केही घण्टाअघि भारतीय प्रहरीले पाकिस्तानमा आधारित आतङ्कवादी समूह जैश–ए–मोहम्मद र अल–कायदाको काश्मीर शाखा अन्सार गजवत–उल–हिन्दसँग सम्बन्धित गिरोहका सदस्यहरूलाई पक्राउ गरी विस्फोटक पदार्थ र आक्रमणकारी राइफलहरू बरामद गरेको घोषणा गरेको थियो । यी दुवै समूह भारतमा प्रतिबन्धित आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध छन् । भारत सरकारले यस घटनालाई पाकिस्तानको समर्थनमा सञ्चालित आतङ्कवादी गतिविधिसँग जोड्दै कडा प्रतिक्रिया जनाएको छ । यद्यपि पाकिस्तानले ती आरोपहरू अस्वीकार गरेको छ । अप्रिलको पहलगाम आक्रमणपछि दुवै आणविक शक्ति सम्पन्न देशहरूबीच मे महिनामा गोलीबारी, तोपखाना र ड्रोन आक्रमणमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यसपछि मात्र युद्धविराम कायम गरिएको थियो । भारतको राजधानीमा यसअघि सन् २०११ सेप्टेम्बरमा ठूलो आतङ्कवादी आक्रमण भएको थियो । सो बेला ब्रिफकेसमा लुकाइएको बम उच्च अदालत बाहिर विस्फोट भएको थियो । हालको दिल्ली विस्फोटलाई त्यसपछिको सबैभन्दा गम्भीर सुरक्षा चुनौतीका रूपमा हेरिएको छ । इस्लामावाद, २५ कात्तिक (रासस/एएफपी):

सम्पर्कमा रहनुहोस्