इरानमा विरोध प्रदर्शन चर्किँदै: मृतकको सङ्ख्या २ हजार ५७१ पुग्यो, मानवअधिकार सङ्कट गहिरिँदै

पुस ३०, २०८२

@सुनिल सिंह  तेहरान

— इरानमा जारी व्यापक विरोध प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २ हजार ५७१ पुगेको छ। सरकारद्वारा प्रदर्शन नियन्त्रण गर्न सञ्चार माध्यम र इन्टरनेट सेवा अवरुद्ध गरिएपछि स्थानीय नागरिकहरूले मङ्गलबारदेखि पहिलो पटक बाहिरी विश्वसँग टेलिफोनमार्फत सम्पर्क गर्न थालेका छन्।इरानी राज्य टेलिभिजनले पहिलोपटक प्रदर्शनका क्रममा भएको मृत्युलाई स्वीकार गर्दै “धेरै शहीदहरू” भएको जनाएको छ। यसअघि सरकारले मृत्युको वास्तविक तथ्याङ्क सार्वजनिक गर्न आनाकानी गर्दै आएको थियो।विरोध प्रदर्शन सुरुमा आर्थिक सङ्कट, बढ्दो महँगी र बेरोजगारीका कारण सुरु भएको भए पनि समयक्रममा यो राजनीतिक असन्तोषमा रूपान्तरण भएको छ। अहिले प्रदर्शनकारीहरूले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीविरुद्ध कडा नाराबाजी गर्दै उनको पदत्याग र मृत्युसम्मको माग गर्ने नारा लगाइरहेका छन्।मानवअधिकार समूहहरूको विवरणअनुसार मृतकमध्ये २ हजार ४०३ जना प्रदर्शनकारी, १४७ जना सरकारी पक्षसँग सम्बन्धित व्यक्ति, १२ जना बालबालिका९ जना अन्य सर्वसाधारण रहेका छन्। साथै, १८ हजार १०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्, जसमा विद्यार्थी, श्रमिक र महिला अधिकारकर्मीहरू पनि समावेश छन्।राजधानी तेहरानसहित प्रमुख सहरहरूमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ भने विभिन्न सरकारी भवनमा आगजनी, एटीएम तोडफोड र सार्वजनिक संरचनामा क्षति पुगेको छ। अहिले धेरै स्थानमा सूनसान अवस्था देखिएको स्थानीय बासिन्दाहरूले बताएका छन्।एक स्थानीय बासिन्दाले भने, “मानिसहरू अत्यन्त निराश छन्। डर पनि छ, तर आक्रोश अझ बलियो छ। अवसर मिल्ने बित्तिकै फेरि सडकमा उत्रने चाहना धेरैको छ।”यसैबीच, इरानी सुरक्षा निकायहरूले स्टारलिंक सेटेलाइट इन्टरनेट उपकरणको खोजी तीव्र पारेका छन्। इन्टरनेट अवरोधबीच स्टारलिंकले इरानमा निशुल्क सेवा उपलब्ध गराएको बताइएको छ, जसलाई सरकारले राष्ट्रिय सुरक्षाका लागि खतरा मानेको छ।इरानमा आर्थिक दबाब, राजनीतिक दमन र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रतिबन्धका कारण स्थिति झन् जटिल बन्दै गएको विश्लेषकहरूको भनाइ छ। अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले हिंसा रोक्न र नागरिकको अधिकार सुनिश्चित गर्न इरानी सरकारलाई दबाब दिइरहेका छन्।

इरानमा बढ्दो विरोध प्रदर्शनले गम्भीर मानवअधिकार सङ्कट निम्त्याउने जोखिम बढ्दै गएको संकेत देखिएको छ।

सम्पर्कमा रहनुहोस्