इतिहास, परम्परा र राष्ट्रिय पहिचानको सम्मान

माघ ८, २०८२

@सुनिल सिंह जनकपुरधाम

 — जानकी मन्दिर दर्शनसम्बन्धी सूचनामा ‘श्री ५ महाराजाधिराज’ उल्लेख भएपछि केही गणतन्त्र पक्षधर समूहहरूबाट आलोचना भए पनि, इतिहास, संस्कृति र परम्पराप्रति सम्मान गर्ने नागरिकहरूले यसलाई स्वाभाविक, गौरवपूर्ण र राष्ट्रिय पहिचानसँग जोडिएको विषयका रूपमा लिएका छन्।नेपालको इतिहास, संस्कृति र धार्मिक परम्परामा ‘श्री ५ महाराजाधिराज’ केवल राजनीतिक पद होइन, राष्ट्रिय एकता, सार्वभौमिकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित शब्द हो। जानकी मन्दिरजस्तो ऐतिहासिक र धार्मिक संस्थामा परम्परागत सम्बोधन प्रयोग हुनु अस्वाभाविक नभई, ऐतिहासिक चेतनाको अभिव्यक्ति भएको जानकारहरूको भनाइ छ।इतिहासविद्हरूका अनुसार जनकपुरधाम, जानकी मन्दिर र समग्र मिथिला सभ्यता नेपालकै राजकीय, धार्मिक र सांस्कृतिक संरचनासँग गहिरो रूपमा जोडिएको छ। “धार्मिक संस्थामा प्रयोग हुने भाषा राजनीतिक परिवर्तनसँगै रातारात मेटिन सक्दैन,” एक संस्कृतिविद् भन्छन्, “यो हाम्रो सभ्यता र पहिचानसँग गाँसिएको विषय हो।”केही समूहले यसलाई गणतन्त्रविरुद्धको संकेतका रूपमा व्याख्या गरे पनि, समर्थकहरू भन्छन्— इतिहास स्वीकार्नु भनेको गणतन्त्र अस्वीकार गर्नु होइन। बरु, आफ्नो विगतलाई सम्मान गर्न नसक्ने समाजको भविष्य कमजोर हुने उनीहरूको तर्क छ।सामाजिक सञ्जालमा ठूलो संख्यामा नागरिकहरूले ‘श्री ५ महाराजाधिराज’ शब्दप्रति समर्थन जनाउँदै, इतिहास मेट्ने नाममा राष्ट्रिय स्मृति नष्ट गर्न नहुने धारणा राखेका छन्। उनीहरूका अनुसार नेपालमा गणतन्त्र आए पनि राजसंस्थाले निर्माण गरेको इतिहास, संस्कार र राष्ट्रिय पहिचानलाई अस्वीकार गर्नु आत्मविस्मृतिको संकेत हो।धार्मिक तथा सांस्कृतिक संस्थाहरू राजनीतिक प्रयोगशाला होइनन्। जानकी मन्दिरजस्ता संस्थामा प्रयोग हुने भाषा र परम्परालाई राजनीतिक चस्माबाट हेर्नु असहिष्णुता र संकीर्ण सोच भएको समर्थकहरूको ठम्याइ छ।यो घटनाले एउटा स्पष्ट सन्देश दिएको छ— ‘श्री ५ महाराजाधिराज’ कुनै डरको विषय होइन, यो नेपालको इतिहासको यथार्थ हो। इतिहाससँग डराउने होइन, त्यसबाट सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको जनमत बढ्दै गएको देखिन्छ।

सम्पर्कमा रहनुहोस्