इङ्ल्यान्डविरुद्ध ऐतिहासिक चुनौती: टी–२० विश्वकपमा नयाँ पुस्तालाई प्रेरणा दिन नेपाल तयार

माघ २५, २०८२

भारतको मुम्बईमा सुरु हुने २०२६ टी–२० विश्वकप मा नेपालले आइतबार पूर्व च्याम्पियन इङ्ल्यान्डसँग उद्घाटन खेल खेल्दैछ। कप्तान रोहित पौडेल नेतृत्वको नेपाली टोली बलियो प्रतिद्वन्द्वीविरुद्ध उल्टफेर गर्ने लक्ष्यसहित मैदान उत्रँदैछ।मुम्बईको अत्यधिक ट्राफिकका कारण नेपालले शुक्रबार र शनिबार तय गरिएको अभ्यास सत्र रद्द गर्नुपरेको थियो। भारत र अमेरिकाबीचको उद्घाटन खेल वानखेडे रंगशालामा भइरहँदा, नेपलको अभ्यास स्थल डी.वाई. पाटिल रंगशाला पुग्न ट्राफिक ठूलो बाधा बनेको थियो।यद्यपि तयारीको हिसाबले दुवै टोली सन्तुष्ट देखिन्छन्। इङ्ल्यान्डले श्रीलंकामा भएको सिरिज जित्दै विश्वकपको तयारी बलियो बनाएको छ भने नेपालले पनि अभ्यास खेलमा यूएईलाई सात विकेटले पराजित गर्दै आत्मविश्वास बढाएको छ।इङ्ल्यान्डसँग फिल साल्ट र जोस बटलरजस्ता विश्वस्तरीय ब्याट्सम्यान छन्। साल्टको फिटनेसलाई लिएर केही चिन्ता भए पनि इङ्ल्यान्ड बलियो टोलीकै रूपमा मैदान उत्रने निश्चित छ।तर नेपालका लागि आशाको आधार पनि स्पष्ट छ। नेपालले यसअघि दुई पटक टी–२० विश्वकप जितेको वेस्ट इन्डिजलाई शारजाहमा हराएर इतिहास रचेको थियो। यही जितले नेपाली टोलीमा ठूला टोलीलाई हराउन सकिन्छ भन्ने आत्मविश्वास थपेको कप्तान पौडेल बताउँछन्।

“२०१४ को विश्वकपले हामीजस्ता खेलाडीलाई प्रेरणा दिएको थियो,” पौडेलले भने,
“अब यो विश्वकपले नयाँ पुस्तालाई प्रेरणा दिनेछ। हामी यही प्रभाव छोड्न चाहन्छौं।”

इङ्ल्यान्डका अलराउन्डर विल ज्याक्सले नेपाल क्रिकेटको तीव्र विकासको प्रशंसा गर्दै उद्घाटन खेललाई गम्भीर रूपमा लिएको बताएका छन्।नेपाल जितको दाबेदार नदेखिए पनि, भारतमा हुने यो विश्वकपमा नेपाली टोलीले गर्ने कुनै पनि उपलब्धिले देशभित्र ठूलो प्रेरणा र उत्साह पैदा गर्ने निश्चित छ।

सम्पर्कमा रहनुहोस्