आर.आर. क्याम्पस अगाडि रास्वपा नेता बालेन साहको पुत्ला दहन

फाल्गुन ९, २०८२

दाङ – आशन्न निर्वाचनको प्रचार–प्रसारका क्रममा दाङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी का अराजक तत्त्वहरूले नेकपा (एमाले) को पार्टी झण्डा जलाएको घटनाप्रति एमालेनिकट विद्यार्थी संगठन अखिलले गम्भीर आपत्ति जनाएको छ।अखिलले एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई अराजनैतिक, निन्दनीय र लोकतान्त्रिक मूल्य–मान्यताविपरीतको कार्य भएको जनाएको छ। संगठनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई अबिलम्ब पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।घटनाप्रति विरोध जनाउँदै अखिलले आज दाङस्थित आर.आर. क्याम्पस अगाडि प्रदर्शनसमेत गरेको छ। प्रदर्शनका क्रममा अखिलका कार्यकर्ताहरूले बालेन साह, जो राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हुन्, उनको पुत्ला दहन गरेका छन्।प्रदर्शनमा सहभागी अखिलका नेताहरूले भने, “निर्वाचनको मुखमा यस प्रकारका उग्र र अराजक गतिविधिहरूले लोकतान्त्रिक वातावरण बिगार्ने काम गर्छ। फरक विचार र प्रतिस्पर्धा स्वीकार्य भए पनि हिंसा र उक्साहट कुनै हालतमा स्वीकार्य हुँदैन।”अखिलले आगामी दिनमा यस्ता घटना दोहोरिए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ। साथै, शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न सबै राजनीतिक दल र कार्यकर्तालाई संयम अपनाउन आग्रह गरेको छ।

यस घटनापछि दाङको राजनीतिक वातावरण केही तनावग्रस्त बनेको छ भने सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको र आवश्यक सतर्कता अपनाइएको जनाएको छ।

सम्पर्कमा रहनुहोस्