आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू

कार्तिक २०, २०८२

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (युएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा आरसिबीमा गरेको लगानीको ‘रणनीतिक समीक्षा’ सुरू भएको औपचारिक रूपमा जनाएको छ । युएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले बुधबार पठाइएको पत्रमा आरसिबीलाई ‘एक मूल्यवान र रणनीतिक सम्पत्ति’ भन्नुभएको छ । तथापि, उहाँले यसलाई ‘हाम्रो मुख्य अल्कोबेभ व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका’ कारण समीक्षा आवश्यक भएको बताउनुभयो । “यो निर्णयले युएसएल र डियाजियो दुवैको भारतस्थित व्यवसायिक पोर्टफोलियोको समीक्षा र सुदृढीकरणप्रति प्रतिबद्धता झल्काउँछ”, सोमेश्वरले भन्नुभयो, “हामी आरसिबी र त्यससँग सम्बन्धित सम्पूर्ण हितलाई प्राथमिकतामा राख्नेछौँ ।” यो समीक्षा प्रक्रिया पुरुष तथा महिला दुवै टोलीका स्वामित्व सम्हाल्ने रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेड सम्म फैलिने बताइएको छ र आगामी वर्षको मार्चसम्ममा यसको निष्कर्ष आउने अपेक्षा गरिएको छ । सन् २००८ मा स्थापना भएको यो चर्चित टी–२० क्रिकेट लिगमा आरसिबीले पहिलो पटक यसै वर्ष जुन महिनामा आइपिएल उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । ब्लुमबर्ग न्युजका अनुसार, टोलीका मालिकहरू अहिले ‘क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गर्दै’ दुई अर्ब डलरसम्मको मूल्याङ्कन लक्ष्य राखिरहेका छन् । तर विजयको उत्सवपछि आरसिबीमाथि दुःखद क्षण पनि आयो । अहमदाबादमा अन्तिम जित हासिल गरेको एक दिनपछि, बैङ्गलोरको एम. चिन्नास्वामी स्टेडियम बाहिर आयोजित विजय परेडमा ठेलमठेल हुँदा ११ जना प्रशंसकको मृत्यु भयो भने ५० भन्दा बढी घाइते भए । हजारौँको भीडले आफ्ना प्रिय नायक विराट कोहली र विजयी टोलीलाई घर फर्किँदा स्वागत गर्न सडकमा उत्रिएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनालाई ‘पूर्ण रूपमा हृदयविदारक’ भन्दै गहिरो शोक प्रकट गर्नुभएको थियो । कप्तान कोहलीले पनि सामाजिक सञ्जालमार्फत लेख्दै आफू ‘शब्दविहीन र अत्यन्त पीडित’ भएको प्रतिक्रिया दिनुभएको थियो । आरसिबीको सम्भावित बिक्रीबारे हुने यो समीक्षा र निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना देखिएको छ । नयाँदिल्ली, २० कात्तिक (रासस/एएफपी)

सम्पर्कमा रहनुहोस्