माघ ३, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्थापन केन्द्रीय सदस्य गणेश लामा ले सम्हालेपछि पार्टीभित्रको आन्तरिक राजनीति थप संवेदनशील बनेको छ। तरुण दललाई अगाडि सार्दै लामा आफू निकट काभ्रेली समूहका युवाहरू परिचालन गरेर सुरक्षा जिम्मेवारीमा सक्रिय भएका छन्।गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएयता कांग्रेसभित्र गुटगत ध्रुवीकरण तीव्र बन्दै गएको छ। सोही सन्दर्भमा आज पार्टी कार्यालयमा हुने गतिविधिका क्रममा गगन थापा प्यानलका समर्थकहरू र देउवा पक्ष निकट समूहबीच भनाभन वा तनाव सिर्जना हुन सक्ने सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ।पार्टी स्रोतका अनुसार शेरबहादुर देउवा पक्षीय युवाहरूको संयोजनमा गणेश लामा र तरुण दलका अध्यक्ष विद्वान गुरुङ पछिल्ला दिनहरूमा कार्यालय व्यवस्थापन र सुरक्षामा सक्रिय छन्। यसलाई लिएर गगन थापा पक्षका केही नेताहरूले पार्टी कार्यालयलाई गुटगत प्रभावमा राख्न खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।यद्यपि, कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि दुवै पक्षका नेताहरूलाई संयम अपनाउन आग्रह गरिएको छ। कांग्रेस नेतृत्वका केही वरिष्ठ नेताहरूले पार्टी कार्यालयलाई सबै पक्षका लागि साझा र सुरक्षित स्थान बनाउनुपर्नेमा जोड दिएका छन्।
पार्टी नेतृत्वबाट अहिलेसम्म औपचारिक धारणा सार्वजनिक नभए पनि आजको दिन कांग्रेसका लागि आन्तरिक एकता र संयमको परीक्षा हुने विश्लेषकहरूको भनाइ छ।