जेष्ठ १५, २०८३
काठमाडौँ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ। बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) का विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।
भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले आगामी बजेटका मुख्य प्राथमिकता, नीति तथा सिद्धान्त र राजस्वको खाकाबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए।
भेटका अवसरमा अर्थमन्त्री वाग्लेले हालै संसद्मा पेस गरिएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण राष्ट्रपति पौडेलसमक्ष हस्तान्तरण गरे। यसका साथै देशका सार्वजनिक संस्थानहरूको वित्तीय अवस्था समेटिएको 'सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन' पनि राष्ट्रपतिज्यूलाई बुझाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोलि शुक्रबार (जेठ १४ गते) अपरान्ह ठीक ४ बजे संसद्को संयुक्त सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) मा सरकारको आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।