आईएसआईएसका ‘दोस्रो कमाण्डर’ अबु-बिलाल अल-मिनुकी नाइजेरियामा मारिएको ट्रम्पको दाबी, आईएसलाई ठूलो धक्का

जेष्ठ २, २०८३

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस) का दोस्रो वरियताका कमाण्डर अबु-बिलाल अल-मिनुकी अफ्रिकामा मारिएको घोषणा गरेका छन्। अमेरिकी र नाइजेरियाली सेनाको संयुक्त सैन्य कारबाहीमा उनी मारिएको ट्रम्पले दाबी गरेका हुन्।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा पोस्ट गर्दै यो सैन्य अभियान पूर्ण रूपमा सफल भएको र विश्वकै सबैभन्दा सक्रिय आतंकवादी मध्येका एक अल-मिनुकीको अन्त्य भएको उल्लेख गरेका छन्।

"अफ्रिकामा लुक्न खोजेका थिए"

अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार यो सैन्य कारबाही अत्यन्तै जटिल र सुक्ष्म योजनाका साथ अघि बढाइएको थियो।

"मेराे निर्देशनमा अमेरिकी सेना र नाइजेरियाको सशस्त्र बलले विश्वकै खतरनाक आतंकवादीलाई रणभूमिबाट हटाउन सफल भएका छन्," ट्रम्पले लेखेका छन्, "आईएसका दोस्रो कमाण्डर अबु-बिलाल अल-मिनुकीले आफू अफ्रिकामा लुक्न सक्छु भन्ने ठानेका थिए, तर उनले के गरिरहेका छन् भन्ने कुरा हाम्रा स्रोतहरूले हामीलाई निरन्तर जानकारी दिइरहेका थिए।"

ट्रम्पले यो सफल अभियानका लागि नाइजेरियाली सरकारलाई साझेदारीको लागि धन्यवाद समेत दिएका छन्। नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले पनि लेक चाड बेसिन क्षेत्रमा रहेको उनको बंकरमा भएको हवाई आक्रमणमा अल-मिनुकी आफ्ना सहयोगीहरूसहित मारिएको पुष्टि गरेका छन्।

को हुन् अल-मिनुकी?

नाइजेरियाली नागरिक रहेका अल-मिनुकीलाई सन् २०२३ मा तत्कालीन बाइडेन प्रशासनले 'विशेष रूपमा चिन्हित विश्व आतंकवादी' (SDGT) को सूचीमा राखेको थियो। अमेरिकी विदेश मन्त्रालयका अनुसार उनी साहेल क्षेत्रमा सक्रिय आईएसका वरिष्ठ नेता थिए, जसले विश्वभर आतंकवादी गतिविधि सञ्चालन गर्न रणनीतिक मार्गनिर्देशन र आर्थिक कोषको व्यवस्थापन सम्हाल्दै आएका थिए।

आईएसका लागि ठूलो धक्का

सिरिया र इराकमा आईएसको 'खिलाफत' ध्वस्त भएपछि यो समूहले अफ्रिकालाई आफ्नो नयाँ अखडा बनाउँदै आएको थियो। सन् २०१९ मा आईएसका प्रमुख अबु बकर अल-बग्दादी मारिएपछि अल-मिनुकीको अन्त्यलाई यो संगठनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो धक्का मानिएको छ। सुरक्षा विश्लेषकहरूका अनुसार उनको मृत्युसँगै आईएसको अन्तर्राष्ट्रिय सञ्जाल र वित्तीय परिचालनमा गम्भीर असर पर्नेछ।

सम्पर्कमा रहनुहोस्