फाल्गुन २, २०८२
काठमाडौँ — झापा जिल्लाबाट राजधानी काठमाडौँ फिर्ता हुने क्रममा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव को स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको सडक जनसागरमा परिणत भएको थियो। त्यो भीड केवल मानिसहरूको जमघट थिएन—त्यो भीडमा आँसु थियो, पीडा थियो र देश बचाउने अन्तिम आशा मिसिएको थियो।सडकछेउ उभिएका वृद्धका काँपेका हात, युवाका चर्किएका आवाज र आमाहरूका भरिएका आँखाले एउटै कुरा बोले—देश आज गम्भीर संकटमा छ। फूलमालाभन्दा बढी आँसु चढाइँदै थिए, नाराभन्दा बढी मौन पीडा पोखिँदै थियो। कतिपय नागरिक भावुक हुँदै रोइरहेका थिए, कतिपयले हात जोडेर आग्रह गरिरहेका थिए—“अब देश डुब्न नदिनुस्।”कुनै पार्टीको झण्डा थिएन, कुनै औपचारिक घोषणा थिएन। थियो त केवल जनताको स्वतःस्फूर्त उपस्थिती, जसले देशको वर्तमान अवस्थाप्रति गहिरो असन्तोष र निराशा झल्काइरहेको थियो। “आज हामी व्यक्ति हेर्न आएका होइनौँ, हामी देशको भविष्य खोज्न आएका हौँ,” भीडमा उभिएका एक नागरिकले आँसु पुछ्दै भने।विमानस्थलदेखि निर्मल निवाससम्म सुरक्षाकर्मीहरूको कडा व्यवस्था रहे पनि वातावरण शान्त थियो। तर त्यो शान्तताभित्र जनताको गहिरो पीडा, आक्रोश र आशाको चिच्याहट लुकेको थियो।राजधानीको सडकमा देखिएको यो दृश्यले स्पष्ट सन्देश दिएको छ—जनता बोलिरहेका छन्, आँसुका भाषामा। अब त्यो आवाज कसरी सुन्ने र बुझ्ने भन्ने प्रश्न इतिहासको ढोकामा उभिएको छ।