अष्ट्रेलियामा अन्तिम समयमा शरण प्रस्ताव अस्वीकार गर्दै इरानका अधिकांश महिला फुटबल खेलाडी स्वदेश फर्किए

फाल्गुन २७, २०८२

सन्दिप मल्ल ठकुरी ,अष्ट्रेलिया

इरानको महिला राष्ट्रिय फुटबल टोलीका अधिकांश खेलाडीहरूले अष्ट्रेलियाबाट स्वदेश फर्किने क्रममा अन्तिम समयमा दिइएको शरण (असाइलम) सम्बन्धी प्रस्ताव अस्वीकार गरेका छन्। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टोलीका खेलाडीहरू अष्ट्रेलियाको भ्रमण सकेर स्वदेश फर्किने तयारीमा रहेका बेला विमानस्थलमा शरण लिन सकिने विकल्पबारे जानकारी दिइएको थियो।टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन अष्ट्रेलिया पुगेको थियो। प्रतियोगिता सकिएपछि स्वदेश फर्किने क्रममा केही खेलाडीलाई अष्ट्रेलियामा शरण माग्ने सम्भावनाबारे जानकारी गराइएको बताइएको छ। तर टोलीका अधिकांश सदस्यहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै निर्धारित उडानमार्फत इरान फर्किएका हुन्।यस विषयमा अष्ट्रेलियाली अधिकारीहरू वा इरानी खेलकुद निकायले विस्तृत आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। केही मानवअधिकार समूहहरूले भने इरानमा महिला खेलाडीहरूले सामना गर्नुपरेका विभिन्न सामाजिक तथा कानुनी प्रतिबन्धका विषयमा लामो समयदेखि चासो व्यक्त गर्दै आएका छन्।इरानमा महिला खेलाडीहरूलाई खेलकुद गतिविधि, सार्वजनिक उपस्थिती तथा पोशाकसम्बन्धी कडा नियमहरू पालना गर्नुपर्ने व्यवस्था रहेको बताइन्छ। यस्ता कारणले गर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरूको अवस्थाबारे समय–समयमा अन्तर्राष्ट्रिय समुदायमा बहस हुने गरेको छ।यस घटनापछि अन्तर्राष्ट्रिय खेलकुद समुदायमा महिला खेलाडीहरूको अधिकार, स्वतन्त्रता र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने क्रममा उनीहरूले सामना गर्ने चुनौतीबारे फेरि चर्चा सुरु भएको छ। तर अहिलेसम्म इरानी टोलीका कुनै खेलाडी अष्ट्रेलियामै बसेको वा शरण मागेको विषयमा आधिकारिक पुष्टि भएको छैन।

सम्पर्कमा रहनुहोस्