अष्ट्रेलियाको Runaway The Label का संस्थापक प्रेमल पटेलको निधन

पुस ३, २०८२

सिड्नी, अष्ट्रेलिया:
अष्ट्रेलियाको चर्चित फेसन ब्रान्ड Runaway The Label का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रेमल पटेल ४७ वर्षको उमेरमा अचानक निधन भएका छन्। स्वास्थ्य समस्याका कारण करिब एक महिनासम्म अस्पतालमा उपचाररत रहेका प्रेमल आइतबार मृत्यु भएका हुन्। उनको निधनले अष्ट्रेलियाली फेसन उद्योग र उनका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ।ब्रान्डको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशित विज्ञप्तिमा प्रेमलको स्पष्ट दृष्टिकोण, मूल्य र नेतृत्वले Runaway The Label को पहिचान निर्माण गरेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि उनले सिर्जना गरेको विरासत सधैं जीवित रहनेछ, तर उनको अनुपस्थितिले संसार अलिकति उज्यालो कम भएको अनुभूति भएको छ।प्रेमलको परिवारले यस दुःखद समयमा गोपनीयताको सम्मान गर्न अनुरोध गरेका छन्। साथै उनको जीवन, योगदान र सिर्जनात्मक यात्राको सम्मानस्वरूप स्मृति कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ।फेसन, मनोरञ्जन र सामाजिक सञ्जाल क्षेत्रका थुप्रै चर्चित व्यक्तित्वहरूले प्रेमलको निधनप्रति शोक व्यक्त गरेका छन्। उनका सहकर्मी र शुभेच्छुकहरूले प्रेमललाई दयालु, दूरदर्शी र प्रेरणादायी व्यक्तित्वका रूपमा सम्झिएका छन्।निधन हुनुअघि प्रेमल पटेलले आफू भ्यापिङका कारण गम्भीर स्वास्थ्य संकटमा परेको खुलासा गरेका थिए। उनले सामाजिक सञ्जालमा आईसीयूमा उपचाररत अवस्थाको तस्बिर सार्वजनिक गर्दै फोक्सोमा तरल पदार्थ जमेकाले अक्सिजन स्तर खतरनाक रूपमा घटेको बताएका थिए। पटक–पटक अस्पताल भर्ना भएपछि उनलाई अन्ततः कृत्रिम कोमामा राखिएको थियो।स्वास्थ्य अवस्थाबाट फर्किएपछि प्रेमलले भ्यापिङ गर्नेहरूलाई चेतावनी दिएका थिए। उनले यसलाई जीवनसँगको जुवा भनेका थिए र आफूले नियन्त्रणमा ठानेको बानी नै जीवनकै सबैभन्दा कठिन संघर्ष बनेको उल्लेख गरेका थिए।उनको असामयिक निधनले भ्यापिङको जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। स्वास्थ्य विज्ञाहरूले पनि यसलाई सुरक्षित विकल्प ठान्ने भ्रमबाट सचेत रहन सबैलाई अनुरोध गरेका छन्।प्रेमल पटेलको फेसन उद्योगमा छुट्टै पहिचान र योगदान सधैं सम्झन योग्य रहनेछ।

@एस.आचार्य

सम्पर्कमा रहनुहोस्