बैशाख ८, २०८३
नेपाल भ्रमणमा रहनुभएका अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस. पल कपुर र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएयता अमेरिकाबाट भएको यो नै उच्च तहको पहिलो भ्रमण हो ।
भेटका क्रममा दुई देशबीचको दशकौँ लामो कुटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने र नेपालको आर्थिक विकासमा अमेरिकी सहयोगलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको छ । अर्थमन्त्री वाग्लेले नेपालको वर्तमान आर्थिक सुधारका प्रयास, शासकीय सुधारका १०० कार्यसूची र लगानीमैत्री वातावरण निर्माणका लागि भइरहेका पहलहरूबारे सहायक मन्त्री कपुरलाई जानकारी गराउनुभएको थियो ।
भेटको मुख्य एजेण्डामा एमसीसी (MCC) अन्तर्गतका परियोजनाहरूको गति तीव्र बनाउने र नेपालमा सूचना प्रविधि (ICT), आर्टिफिसियल इन्टेलिजेन्स (AI) र साइबर सुरक्षाका क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने विषय रहेका थिए । सहायक मन्त्री कपुरले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकाले सधैँ साथ दिने प्रतिबद्धता जनाउँदै नयाँ सरकारका आर्थिक प्राथमिकताहरूमा सहयोग गर्न वासिङ्टन इच्छुक रहेको बताउनुभयो ।
सुरक्षा विज्ञका रूपमा समेत चिनिनुभएका कपुरसँगको वार्तामा दक्षिण एशियाली क्षेत्रीय सुरक्षा र नेपालको रणनीतिक महत्वका विषयमा पनि संक्षिप्त चर्चा भएको बुझिएको छ । भारतमा जन्मिएका कपुरलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली मामिला हेर्ने जिम्मेवारी सुम्पिएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।
भेटमा नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरू र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । तीन दिने भ्रमणका लागि सोमबार काठमाडौँ ओर्लिनुभएका कपुरले आजै अन्य उच्च राजनीतिक भेटघाटहरू समेत गर्नुहुने तालिका रहेको छ ।