अर्थमन्त्रीले करका दर हेरफेर गरेको खुला स्वीकार गरे, यो आर्थिक अपराध हो: वर्षमान पुन

जेष्ठ २९, २०८३

काठमाडौँ, २९ जेठ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वभौम संसद र संसदीय समितिको अवमूल्यन गर्दै सांसदहरूलाई धम्क्याउने काम गरेको आरोप लगाउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका सांसद पुनले विपक्षी सांसदहरूले शंकाको सुविधा दिँदा दिँदै पनि अर्थमन्त्रीले धाकधम्की दिने शैली अपनाएको भन्दै गम्भीर आपत्ति जनाउनुभयो।

संसदीय समितिको अवमूल्यन र धाकधम्की

सांसद पुनका अनुसार हिजो बसेको सार्वजनिक लेखा समितिको बैठकमा आर्थिक विधेयकमाथिको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले गैरजिम्मेवारपूर्ण तवरले जवाफ दिनुभएको थियो।

बैठकलाई सम्बोधन गर्दै पुनले भन्नुभयो:

"संसदको विशेष र शून्य समयमा जनसरोकारका विषय उठिरहेका छन्। हिजो सार्वजनिक लेखा समितिमा जसरी अर्थमन्त्रीजीले जवाफ दिनुभयो, त्यसले जनप्रतिनिधिमूलक सार्वभौम संसदको घोर अवमूल्यन गरेको छ। कार्यपालिकाका प्रतिनिधिहरू संसदप्रति पूर्ण जवाफदेही हुनुपर्छ। सांसदहरूले उठाएका सबै विषय आरोप मात्र हुँदैनन्, त्यहाँ जिज्ञासा, प्रश्न र स्पष्टीकरणका कुराहरू हुन्छन्। तर अर्थमन्त्रीले समितिको मर्यादा भुलेर उल्टै धम्क्याउने कोसिस गर्नुभयो।"

'सात वटा करका दर हेरफेर गरेको खुला स्वीकार'

सांसद पुनले बजेट निर्माण र आर्थिक विधेयकका क्रममा अर्थमन्त्री वाग्लेले आर्थिक अनुशासन उल्लंघन गरेको गम्भीर दाबी समेत गर्नुभयो। अर्थमन्त्रीले आफूले करका दरहरू हेरफेर गरेको कुरा खुलमखुल्ला स्वीकारेको भन्दै पुनले यसलाई 'आर्थिक अपराध' को संज्ञा दिनुभयो।

"बैठकमा हामीले करका दरबारे जिज्ञासा राख्दा अर्थमन्त्रीले 'मैले सात वटा करका दरहरू हेरफेर गरेकै हो, के गर्छौ?' भनेर खुला चुनौती र धम्की दिनुभयो," पुनले संसदमा भन्नुभयो, "यसरी खुलमखुल्ला करका दर हेरफेर गरें भन्नु आर्थिक अपराध हो। यस्ता तपशिलका कुराहरू गरेर कोही पनि पन्छिन मिल्दैन।"

प्रधानमन्त्रीले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिले उत्पन्न विवाद सेलाउन नपाउँदै संसदमा अर्थतन्त्र र संसदीय मर्यादा जोडिएको अर्को जटिल विषय आइलागेको भन्दै नेकपाले यस विषयलाई सदनमा दह्रोसँग उठाउने संकेत गरेको छ।

सम्पर्कमा रहनुहोस्