फाल्गुन ३, २०८२
वाशिङ्टन — अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट सार्वजनिक गरिएको एक भिडियोप्रति कडा आलोचना गर्नुभएको छ। उक्त भिडियोमा ओबामा र उनकी पत्नी मिशेल ओबामा लाई बाँदरको रूपमा चित्रण गरिएको दृश्य समावेश भएपछि अमेरिकी राजनीतिक संवादमा शिष्टाचार र मर्यादाको गम्भीर ह्रास भइरहेको उहाँको टिप्पणी छ।वामपन्थी टिप्पणीकार ब्रायन टायलर कोहेन सँगको विस्तृत पोडकास्ट अन्तर्वार्तामा ओबामाले पछिल्ला वर्षहरूमा राजनीतिक बहस “पहिले कहिल्यै नदेखिएको क्रूरताको स्तरमा” झरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार अधिकांश अमेरिकी नागरिकहरू यस्ता दृश्य र भाषालाई गम्भीर रूपमा चिन्ताजनक मान्छन्।कसैको नाम नलिँदै ओबामाले सामाजिक सञ्जाल र टेलिभिजनमा देखिने “जोकर शैलीको प्रस्तुति” ले सार्वजनिक पदप्रति आवश्यक सम्मान कमजोर बनाइरहेको संकेत गरेको बताउनुभयो। यस्तो प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिमा दीर्घकालीन क्षति पुर्याउने उहाँको चेतावनी थियो।
विवादित भिडियो र ह्वाइट हाउसको प्रतिक्रिया:- फेब्रुअरी ५ मा ट्रम्पको Truth Social खाताबाट सेयर गरिएको करिब एक मिनेट लामो भिडियोमा सन् २०२० को राष्ट्रपति चुनावसम्बन्धी षड्यन्त्रपूर्ण दाबीहरू पुनः दोहोर्याइएका थिए। भिडियोको अन्त्यतिर राष्ट्रपति जो बाइडेन र ओबामा दम्पतीको अनुहार बाँदरको शरीरमा देखाइएको दृश्य समावेश थियो, जसले व्यापक आलोचना निम्त्यायो।प्रारम्भमा White House ले यसलाई ‘नक्कली आक्रोश’ भन्दै अस्वीकार गरे पनि पछि उक्त पोस्ट स्टाफको त्रुटिका कारण सार्वजनिक भएको दाबी गर्दै हटाइएको जनाएको थियो। ट्रम्पले भिडियोमा गरिएको दाबीहरूको पक्षमा आफू उभिएको बताए पनि आपत्तिजनक दृश्य आफूले नदेखेको दाबी गर्नुभएको छ।
चुनावी प्रभाव र राजनीतिक आकलन:- अन्तर्वार्ताका क्रममा ओबामाले यस्ता सन्देश र प्रस्तुतीहरूले आगामी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई नै नोक्सान पुर्याउन सक्ने आकलन गर्नुभयो। अन्ततः यस्ता व्यवहारको जवाफ अमेरिकी जनताले मतदानमार्फत दिने उहाँको भनाइ थियो।
आप्रवासन कारबाहीप्रति पनि आलोचना :- ओबामाले ट्रम्प प्रशासनद्वारा मिनेसोटा मा सञ्चालन गरिएको आप्रवासन दमन अभियानको समेत आलोचना गर्नुभयो। ICE अधिकारीहरू समेत संलग्न हजारौँ सङ्घीय एजेन्टले अपराधीविरुद्ध लक्षित अपरेसन भन्दै व्यापक छापा र गिरफ्तारी गरेका थिए।केही घटनामा घातक गोलीकाण्डसमेत भएको उल्लेख गर्दै ओबामाले एजेन्टहरूको व्यवहारलाई “अधिनायकवादी मुलुकहरूमा देखिने शैलीसँग मिल्दोजुल्दो” भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले यसलाई “दुष्ट व्यवहार” को संज्ञा दिनुभयो।उक्त अभियानपछि मिनेसोटामा ठूलो विरोध प्रदर्शन भएको छ भने देशव्यापी रूपमा पनि आक्रोश फैलिएको छ। यसैबीच आप्रवासन कारबाहीको निरीक्षण गर्ने निकायलाई थप बजेट दिने विषयमा सांसदहरूबीच जारी विवादका कारण गृह मन्त्रालय आंशिक सरकारी शटडाउनमा परेको छ। डेमोक्रेट सांसदहरूले आइसिईको कार्यशैलीमा ठोस सुधार नभएसम्म नयाँ कोष स्वीकृत नगर्ने अडान लिएका छन्।
नागरिक सक्रियतामै आशा:- ओबामाले भने समुदायस्तरमा देखिएको शान्तिपूर्ण र सङ्गठित प्रतिरोध नै लोकतन्त्रका लागि आशाको आधार भएको उल्लेख गर्नुभयो। सत्य र अहिंसात्मक विरोधमार्फत नागरिकहरूले आफूले विश्वास गर्ने मूल्यहरूको पक्षमा उभिनु सकारात्मक संकेत भएको उहाँको भनाइ छ। सामान्य नागरिकको निरन्तर सक्रियताले नै अमेरिकी लोकतन्त्रलाई दीर्घकालमा सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।