“अब उपरान्त संसद्‌मा प्रधानमन्त्री बालेन शाहलाई खोज्दैनौँ, उहाँको उपस्थितिभन्दा मुलुकका समस्या ठूला छन्” : भीष्मराज आङ्देम्बे

जेष्ठ २७, २०८३

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अब उपरान्त आफ्नो दलले संसद्‌मा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई नखोज्ने घोषणा गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेता आङ्देम्बेले मुलुकसामु उठेका प्रश्न र समस्याहरू प्रधानमन्त्रीको भौतिक उपस्थितिभन्दा कयौँ गुणा ठूलो र संवेदनशील भएको टिप्पणी गरे।

प्रधानमन्त्री शाहको हालैको संसद्‌ उपस्थितिलाई 'छापामार शैली'को संज्ञा दिँदै आङ्देम्बेले उनको कार्यशैलीप्रति कडा आपत्ति जनाए।

'फेरि कुनै उदण्डता मच्चाइदिनुहुन्छ कि भन्ने डर लाग्छ'

गत जेठ १७ गते संसद्‌मा प्रधानमन्त्री बालेन शाहले सीमा विवादलाई लिएर दिएको अभिव्यक्ति र उनको भूमिका एकलौटी रहेको प्रतिपक्षको आरोप छ। सोही प्रसंग उठाउँदै नेता आङ्देम्बेले संसद्‌मा भने:

"मलाई डर लागिरहेको छ— फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्री आउनुहोला, फेरि त्यस्तै केही नहोस् भन्ने लाग्छ। डर पनि लाग्छ, कतै फेरि कुनै उदण्डता मच्चाइदिनुहुन्छ कि! अब उपरान्त म प्रधानमन्त्रीजीलाई संसद्‌मा खोज्न चाहन्न। किनकि मेरो मुलुकका समस्या र प्रश्नहरू उहाँको उपस्थितिभन्दा पनि ठूला र संवेदनशील छन्।"

उनले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिका कारण संसद्‌को गरिमामय समय अनावश्यक रूपमा खर्च गर्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट पारे।

'१८१ सांसदको तालीले अन्तर्राष्ट्रिय क्षेत्रमा गलत सन्देश गयो'

प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिका क्रममा सत्तापक्षका सांसदहरूले बजाएको तालीप्रति पनि उनले व्यङ्ग्य गरे। यदि संसद्‌मा कुनै अन्तर्राष्ट्रिय पर्यवेक्षक उपस्थित भएको भए त्यसले नेपालकै कूटनीतिक अडान कमजोर बनाउने उनको तर्क थियो।

"यदि कुनै अन्तर्राष्ट्रिय पर्यवेक्षक संसद्‌मा बसेको भए, १८१ जना सांसदको तालीको गडगडाहट देखेर उनीहरूले पनि साँच्चै नेपालले नै भारतको सीमा मिचेकै रहेछ भन्ने निष्कर्ष निकाल्न र त्यही लेख्न सक्थे," आङ्देम्बेले संसद्‌मा भने।

विवादित अभिव्यक्ति आफैँ संसद्‌बाट फिर्ता लिन माग

नेता आङ्देम्बेले भारतमा जवाहरलाल नेहरू र नेपालमा बीपी कोइराला जस्ता नेताहरूले संसद्‌का महत्त्वपूर्ण बैठकमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने उच्च लोकतान्त्रिक थिति बसालेको स्मरण गराए। संसद्‌मा प्रधानमन्त्रीको उपस्थिति सारगर्भित हुनुपर्नेमा जेठ १७ गते त्यस्तो नदेखिएको र प्रधानमन्त्री अचानक आएर नेपालले नै सीमा मिचेको जस्तो आशयको गम्भीर दाबी गरेको उनले बताए।

सुरुमा आफूहरूले प्रधानमन्त्रीको 'टङ स्लिप' (बोल्दा चिप्लिएको) ठानेको भए पनि संसद्‌को रेकर्डमा त्यो रहिरहनु देशको हितमा नहुने उनको भनाइ छ। नेपाली कांग्रेसले आफ्नो राजनीतिक अडान स्पष्ट पार्दै प्रधानमन्त्री शाहलाई संसद्‌मा पुनः उपस्थित भई उक्त विवादित अभिव्यक्ति आफैँ फिर्ता लिन र देशका सामु सफाइ दिन जोडदार माग गरेको छ।

सम्पर्कमा रहनुहोस्