साना ताकाइची एलडिपीको नयाँ नेतामा निर्वाचित, जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना

अशोज १८, २०८२

टोकियो, १८ असोज (रासस\एपी) : जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले शनिबार पूर्व आर्थिक सुरक्षामन्त्री साना ताकाइचीलाई पार्टीको नयाँ नेताका रूपमा निर्वाचित गरेको छ । ६४ वर्षीया ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्ने दौडमा अगाडि देखिनुभएको छ ।जापानमा लैङ्गिक समानताको मामिलामा अन्तर्राष्ट्रिय आलोचना भइरहँदा पुरुषप्रधान एलडिपीको पहिलो महिला नेताको रूपमा ताकाइचीको निर्वाचन ऐतिहासिक मानिएको छ । उहाँ पार्टीभित्रकी एक कट्टर रूढीवादी नेत्रीका रूपमा चिनिनुहुन्छ ।ताकाइचीले पूर्व कृषिमन्त्री सिन्जिरो कोइजुमीलाई पराजित गर्दै अध्यक्ष पद जित्नुभएको हो । उहाँले प्रधानमन्त्री सिगेरु इसिबाको स्थान लिनुहुनेछ । इसिबाले हालैको चुनावी हारपछि राजीनामा दिनुभएको थियो । एलडिपीले संसद्को तल्लो सदनमा बहुमत कायम राखेकाले विपक्षीहरू कमजोर भएको अवस्थामा ताकाइची प्रधानमन्त्री बन्ने सम्भावना बलियो देखिन्छ ।निर्वाचन परिणामपछि ताकाइचीले समर्थकहरूलाई धन्यवाद दिँदै भन्नुयो, “मैले एलडिपीका लागि इतिहास बनाएको छु । यो उत्सवको बेला होइन, बरु चुनौतीहरूको पहाड छ जसलाई तपाईंहरूको सहयोगमा पार गर्नुपर्छ ।”उहाँले पार्टीलाई जनमुखी बनाउँदै जनताको विश्वास पुनः प्राप्त गर्न सांसदहरूलाई आग्रह गर्नुभयो । ताकाइचीले भन्नुभयो, “हामीले जनताको चिन्तालाई आशामा रूपान्तरण गर्नुपर्छ, नभए पार्टीको पुनःनिर्माण असम्भव छ ।”एलडिपी हाल संसद्को दुवै सदनमा अल्पमतमा छ । मतदाताको समर्थन फिर्ता ल्याउन र देशभित्र र बाहिरका चुनौतीहरूसँग जुध्न पार्टीलाई नयाँ नेतृत्वको आवश्यकता थियो । ताकाइचीले पार्टीको नीति कार्यान्वयनका लागि विपक्षी दलहरूको सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।पप्रधानमन्त्री सिन्जो आबेको नीतिहरूको हिमायती ताकाइची, यासुकुनी तीर्थमा नियमित दर्शन गर्ने नेत्री हुनुहुन्छ । यो तीर्थ जापानको युद्धकालीन इतिहाससँग जोडिएको कारणले चीन र कोरियासँगको सम्बन्धमा संवेदनशील विषय बन्ने गरेको छ ।ताकाइचीले प्रचार अभियानका क्रममा आफूलाई ‘मध्यम रूढीवादी’का रूपमा प्रस्तुत गर्नुभयो । उहाँले चीन विरोधी धारणा र सामाजिक मुद्दामा कट्टरपन्थी विचार देखाउने काम गर्नुभएन । उहाँ आर्थिक विकासका लागि ठूला खर्च, बलियो सुरक्षा नीति र आप्रवासनमा कडाइको पक्षमा हुनुहुन्छ ।उहाँले आफ्नो गृहनगर नारामा विदेशी पर्यटकप्रति टिप्पणी गरेपछि आलोचना पनि भोग्नुभएको छ । उहाँका आलोचकहरूले ताकाइची विदेशीहरूबारे कटु टिप्पणी गर्ने, अनुवादकको अभावलाई दोष दिँदै विदेशी अपराधीहरू सजायबाट उम्किन्छन् भन्ने दावी गरेको भन्दै प्रश्न उठाएका छन् ।शनिबारको मतदानमा २९५ एलडिपी सांसद र झण्डै १० लाख पार्टी सदस्य सहभागी थिए । यद्यपि, यसले जापानी जनसङ्ख्याको करिब एक प्रतिशत मात्र प्रतिनिधित्व गर्छ ।विश्लेषकहरूका अनुसार उम्मेदवारहरूले ऐतिहासिक मुद्दा, समलिङ्गी विवाह, राजनीतिक भ्रष्टाचार लगायतका संवेदनशील विषयमा छलफल टार्न खोजेका थिए । यसले पार्टीप्रतिको जनविश्वासमा प्रश्न उठाएको छ ।ताकाइचीको विजयसँगै एलडिपीले आगामी अक्टोबरको मध्यतिर हुने संसदिय चुनावको तयारी तीव्र बनाएको छ । ताकाइचीले चाँडै अमेरिका, दक्षिण कोरिया लगायतका देशहरूसँग कूटनीतिक वार्तामा सहभागी हुनुपर्नेछ ।एलडिपीको यो निर्णयले अति–रूढीवादी मतदातालाई तान्न सक्ने सङ्केत दिँदैछ, तर पार्टीले मध्यमार्गी कोमेइटो जस्ता दलहरूसँग सहकार्यको बाटो पनि खोज्नु पर्ने देखिन्छ ।अब ताकाइचीले केवल एलडिपीभित्र मात्र नभई समग्र जापानको राजनीतिमा समेत आफ्नो दूरदर्शिता र नेतृत्व क्षमता प्रमाणित गर्नुपर्ने समय आएको छ ।

सम्पर्कमा रहनुहोस्