चीन–बङ्गलादेश कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवमा राष्ट्रपतिहरूबीच बधाई आदानप्रदान
समय सूत्र @
अशोज १८, २०८२
बेइजिङ, १८ असोज (रासस\सिन्ह्वा):
चीन र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले शनिबार शुभकामना सन्देश आदानप्रदान गर्नुभएको छ ।राष्ट्रपति सीले दुई देशबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्ध र ऐतिहासिक आदानप्रदानलाई स्मरण गर्दै, विगत ५० वर्षमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिवेश जस्तोसुकै भए पनि आपसी सम्मान, समानता र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित सहकार्य कायम रहेको उल्लेख गर्नुभयो ।उहाँले हालका वर्षहरूमा चीन–बङ्गलादेश सम्बन्धले राजनीतिक आपसी विश्वास सुदृढ पार्दै, ‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गत उच्च गुणस्तरको सहकार्य विस्तार गरेको र व्यापक रणनीतिक साझेदारी थप गहिरिएको पनि बताउनुभयो ।राष्ट्रपति सीले बङ्गलादेशसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै, यो ऐतिहासिक अवसरलाई परम्परागत मित्रता प्रवद्र्धन गर्ने, आपसी लाभका क्षेत्रमा सहकार्य बलियो बनाउने र साझा विकासलाई टेवा पु¥याउने अवसरका रूपमा लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।त्यस्तै बङ्गलादेशका राष्ट्रपति साहाबुद्दिनले विगत पाँच दशकमा दुई देशबीच आपसी सम्मान र विश्वासमा आधारित स्थायी मित्रता कायम रहेको बताउनुभयो । उहाँले क्षेत्रीय शान्ति, स्थिरता तथा साझा समृद्धिको प्रवद्र्धनमा चीनको भूमिकाको उच्च सराहना गर्नुभयो र बङ्गलादेशको दिगो विकासका लागि चीनले पु¥याउँदै आएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।राष्ट्रपति साहाबुद्दिनले दुई देशका नेताहरू र जनताको संयुक्त प्रयासबाट द्विपक्षीय सहयोग अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।सोही दिन, चिनियाँ प्रधानमन्त्री ली किआङ र बङ्गलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसबीच पनि बधाई सन्देश आदानप्रदान भएको थियो ।प्रधानमन्त्री लीले चीन–बङ्गलादेश सम्बन्धको विकासमा गहिरो चासो रहेको उल्लेख गर्दै ‘बेल्ट एन्ड रोड’ पहल तथा अन्य क्षेत्रीय सहकार्यमा गति दिने उद्देश्यले बङ्गलादेशसँग सहकार्य गर्न चीन तत्पर रहेको बताउनुभयो ।प्रमुख सल्लाहकार युनुसले पनि विगत ५० वर्षमा दुई देशबीचको मित्रता मजबुत हुँदै गएको र द्विपक्षीय सम्बन्धले स्थिर प्रगति हासिल गरेको उल्लेख गर्दै, भविष्यमा रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।