कार्तिक २४, २०८३
विश्वप्रसिद्ध एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ गम्भीर विवादमा परेका छन् । उनले एक चिनियाँ महिलासँग विवाहबाहिरको सम्बन्ध रहेको कुरा स्वयम् स्वीकारेका छन् । अमेरिकी गुप्तचर निकायले ती महिला चिनियाँ जासुसी सञ्जालसँग जोडिएकी हुन सक्ने आशंका गरेको बताइएको छ । यसै सन्दर्भमा एनभिडियाले स्वतन्त्र छानबिन सुरु गरेको जनाएको छ ।
यो विषय न्युयोर्क टाइम्सको प्रतिवेदनबाट बाहिरिएको हो । प्रतिवेदनअनुसार सिंगापुरमा आधारित क्लाउड कम्पनी मेगास्पिडकी पूर्वअधिकारी एलिस हुआङ र एनभिडिया प्रमुखबीचको सम्पर्कमा अमेरिकी निकायले लामो समयदेखि निगरानी राखेको थियो । उनले जेन्सेन हुआङसँग नजिकको व्यावसायिक सम्बन्ध बनाउन खोजेको दाबी पनि प्रतिवेदनमा गरिएको छ । मेगास्पिड आफैँ पहिलेदेखि अमेरिकी निगरानीमा रहेको कम्पनी हो । अमेरिकाले चीनमाथि लगाएको चिप निर्यात प्रतिबन्ध छलेर चीनसम्म चिप पुग्न सहयोग गरेको हो कि भन्ने शंका उसमाथि उठेको थियो । तर कम्पनीले संवेदनशील व्यापारिक वा राष्ट्रिय सुरक्षासँग जोडिएको कुनै जानकारी आफूले नपाएको बताएको छ र छानबिनमा सहयोग गर्ने जनाएको छ ।
विवाद सार्वजनिक भएपछि हुआङले कम्पनीका कर्मचारीलाई सन्देश पठाएका छन् । सन्देशमा उनले आफ्नो व्यवहार क्षम्य नहुने भन्दै गहिरो पश्चात्ताप व्यक्त गरेका छन् र पत्नी तथा छोराछोरीसँग माफी मागेका छन् । ६३ वर्षीय हुआङले निजी जीवनबारे यसरी खुलेर बोलेको यसअघि सार्वजनिक रूपमा कमै देखिएको थियो । एनभिडियाले पनि मौन बस्ने बाटो लिएको छैन । कम्पनीले स्वतन्त्र सञ्चालकहरूबाट सबै आरोपको समीक्षा गराउने जनाएको छ । कम्पनीका अनुसार अहिलेसम्म गोप्य जानकारी बाहिरिएको वा अमेरिकाको राष्ट्रिय सुरक्षामा असर परेको कुनै प्रमाण भेटिएको छैन । मेगास्पिडका जीपीयू प्रयोगबारे आफूले पहिल्यै जाँच गरेको र चिप अवैध रूपमा चीन पठाइएको प्रमाण नभेटिएको पनि कम्पनीले बताएको छ ।
अमेरिकी पक्षमा पनि यो विषयले हलचल ल्याएको छ । प्रतिवेदनअनुसार अमेरिकी निकायको छानबिन केही समयदेखि चलिरहेको थियो । सन् २०२४ को उत्तरार्धमा वाणिज्य विभागले सुरु गरेको छानबिन यसै वर्ष न्याय विभागमा सारिएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई करिब एक वर्षअघि नै यससम्बन्धी गुप्तचर जानकारी दिइएको तर हुआङलाई औपचारिक रूपमा सचेत नगराइएको कुरा पनि प्रतिवेदनमा उल्लेख छ । यसैबीच ट्रम्पले हुआङलाई असल र सम्मानित व्यक्ति भन्दै उनको पक्षमा बोलेको खबर आएको छ । अर्कातिर, अमेरिकी सांसदहरूले हुआङसँग बन्द कोठामा जानकारी लिन चाहेका छन् । उनीहरूको चासो यो सम्बन्धमार्फत चीनतर्फ कुनै संवेदनशील प्रविधिसम्बन्धी जानकारी पुगेको हो कि भन्ने विषयमा केन्द्रित देखिन्छ ।
यता चीनले यो प्रतिवेदनलाई सिरैदेखि अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यसलाई आधारहीन अनुमान र चीनलाई बदनाम गर्ने प्रयास भनेका छन् । सिंगापुर सरकारले पनि एलिस हुआङमाथि आफूले कुनै छानबिन नगरेको जनाएको छ । वाल स्ट्रिट जर्नलले सिंगापुरका अधिकारीहरू चिन्तित रहेको भनी लेखेको समाचारलाई उसले खण्डन गरेको हो ।
यहाँ एउटा कुरा भने स्पष्ट छ । अफेयरको कुरा हुआङले आफैँ स्वीकारेका छन्, तर जासुसीको आरोप अहिलेसम्म पुष्टि भएको छैन । एउटा सम्बन्ध व्यक्तिगत जीवनको विषय हुन सक्छ, तर विश्वका लागि निर्णायक प्रविधि बनाउने कम्पनीको प्रमुखको हकमा त्यसको छानबिन गम्भीर बन्न पुग्छ । एनभिडियाका चिप आजको एआई दौडका मेरुदण्ड मानिन्छन् र ती चिप चीनलाई बेच्ने कि नबेच्ने भन्ने बहस अमेरिकी राजनीतिमा निकै संवेदनशील छ । त्यसैले हुआङको निजी सम्बन्धको प्रश्न सजिलै व्यापार र राष्ट्रिय सुरक्षासँग जोडिन पुगेको छ ।
बजार विश्लेषकहरूका अनुसार छानबिनमा जासुसीको ठोस प्रमाण भेटिएन र हुआङले बोर्डलाई पूर्ण सहयोग गरे भने उनी पदमा रहिरहने सम्भावना बढी छ । तर बोर्डले के निष्कर्ष निकाल्छ भन्ने कुराले उनको भविष्य निर्धारण गर्नेछ । छानबिनले के देखाउँछ, अब सबैको ध्यान त्यसतर्फ केन्द्रित छ ।