सिड्नीको नेपाल फेस्टिभलमा अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजी: ढाका टोपी र खदा पहिरिएर नेपाली समुदायसँग मनाए तिहार

कार्तिक २२, २०८३

सिड्नी, ७ नोभेम्बर | समय सूत्र मिडिया

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी शनिबार सिड्नीस्थित डार्लिङ हार्बरमा रहेको टम्बालङ पार्कमा आयोजित 'नेपाल फेस्टिभल २०२६' मा सहभागी भएका छन्। नेपाली समुदायको बहुसांस्कृतिक उपस्थिति र महान् पर्व तिहारको अवसर पारेर आयोजना गरिएको सो महोत्सवमा पुगेर प्रधानमन्त्री अल्बानिजीले नेपालीहरूसँग तिहारको खुसी साटेका हुन्।

नेपाली संस्कृतिप्रति सम्मान प्रकट गर्दै प्रधानमन्त्री अल्बानिजी महोत्सवमा ढाका टोपी र नेपाली झन्डा अंकित खादा पहिरिएर उपस्थित भएका थिए। कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै उनले बहुसांस्कृतिक विविधता नै अस्ट्रेलियाको मुख्य शक्ति भएको बताउँदै नेपाली समुदाय त्यसको एक महत्वपूर्ण र सबल हिस्सा रहेको उल्लेख गरे।

कार्यक्रमपश्चात् सामाजिक सञ्जालमा तस्बिरहरू सार्वजनिक गर्दै प्रधानमन्त्री अल्बानिजीले सिड्नीको नेपाली समुदायसँग तिहारको रौनक अनुभव गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाकी न्यू साउथ वेल्स संयोजक उषा किरण पोखरेल बारीयाको समेत उपस्थिति रहेको उक्त महोत्सवलाई सम्पूर्ण नेपाली समुदायको साझा उत्सवको रूपमा आयोजना गरिएको थियो।

नेपाली कला, परम्परा र सांगीतिक माहौल

नेपालको मौलिक कला, संस्कृति, परम्परा तथा स्वादिलो परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी, परम्परागत नृत्य र नेपाली खानाका स्टलहरू राखिएका छन्। नेपालको समृद्ध सांस्कृतिक सम्पदा र पहिचान झल्काउने ‘नेपाल हाउस’ यस वर्षको महोत्सवको मुख्य आकर्षण बनेको छ।

राति १० बजेसम्म निःशुल्क प्रवेशको व्यवस्थासहित सञ्चालन भइरहेको महोत्सवमा साँझको आकर्षणका रूपमा गायक प्रकाश सपुत, रचना रिमाल र सुदिन पोखरेल लगायतका चर्चित नेपाली कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति तय गरिएको छ।

सम्पर्कमा रहनुहोस्