टाइगर श्रॉफमाथि गोली प्रहार, घटनामा संलग्न तीन जना पक्राउ

कार्तिक ४, २०८३

काठमाडौं, ४ कात्तिक। बलिउड अभिनेता टाइगर श्रॉफ सवार गाडीमाथि भारतको मुम्बईस्थित जुहु क्षेत्रमा गोली प्रहार भएको छ। आइतबार साँझ भएको घटनामा अभिनेता श्रॉफ सुरक्षित रहे पनि उनका चालक र एक सर्वसाधारण घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीका अनुसार श्रॉफ जुहुस्थित पुष्पा पार्क नजिकैबाट गाडीमा बाहिरिँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाले गोली चलाएका थिए। आक्रमणकारीमध्ये दुई जनाले गाडीमा गोली प्रहार गरेका थिए भने तेस्रो व्यक्ति मोटरसाइकलमा उनीहरूलाई कुरेर बसेको बताइएको छ। घटनास्थलमा सातवटा गोली प्रहार भएको र पाँचवटा गोलीका खोका तथा दुईवटा जीवित कारतुस फेला परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। घटनामा श्रॉफका चालक फिरदौस र एक सर्वसाधारण घाइते भएका छन्। गोली प्रहारपछि चालक घाइते भएपछि श्रॉफ आफैँले गाडी चलाएर उनलाई अस्पताल पुर्‍याएको समाचारमा उल्लेख छ।

तीन जना पक्राउ, प्रहरी अनुसन्धान जारी

भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई राजस्थानको कोटामा रेलमार्गबाट भाग्ने क्रममा नियन्त्रणमा लिइएको हो। उनीहरूलाई पक्राउ गर्न राजस्थान प्रहरी र मुम्बई प्रहरीबीच समन्वय गरिएको थियो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ। घटनामा प्रयोग भएका हतियार, गोलीका खोका, सीसीटीभी फुटेज र पक्राउ परेका व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान भइरहेको छ।

लरेन्स बिश्नोई समूहले लियो जिम्मेवारी

गोली प्रहारको घटनापछि लरेन्स बिश्नोई समूहसँग सम्बन्धित व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको दाबी गरेका छन्। उनीहरूले अभिनेता सलमान खानसँग सम्बन्धित विषयलाई लिएर श्रॉफलाई निशाना बनाएको दाबी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, उक्त दाबीको आधिकारिक पुष्टि भइसकेको छैन। घटनाको वास्तविक कारण, आक्रमणको योजना र संलग्न व्यक्तिहरूको सम्बन्धबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्पर्कमा रहनुहोस्