असार ५, २०८३
भ्यानकुभर ।
सह-आयोजक क्यानडाले पुरुष फिफा विश्वकपको इतिहासमा आफ्नो पहिलो ऐतिहासिक जित दर्ता गरेको छ। भ्यानकुभरस्थित बिसी प्लेस रङ्गशालामा भएको समूह 'बी' को खेलमा क्यानडाले कतारलाई ६–० को भारी गोलअन्तरले पराजित गर्दै इतिहास रचेको हो।
क्यानडाको यो जितमा स्टार स्ट्राइकर जोनाथन डेभिडले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। पहिलो खेलमा बोस्निया–हर्जगोभिनासँग १–१ को बराबरीमा रोकिँदा फिका देखिएका डेभिडले यस खेलमा प्रशिक्षक जेसी मार्सको विश्वासलाई सही साबित गरिदिए। डेभिड यस समर (गर्मीयाम) को विश्वकपमा ह्याट्रिक गर्ने अर्जेन्टिनाका लियोनेल मेस्सीपछिको खेलाडी बनेका छन्।
खेलको विवरण र रातो कार्डको वर्षा खेलको १६औँ मिनेटमा साइल लारिनले गोल गर्दै क्यानडालाई सुरुवाती अग्रता दिलाएका थिए। यो गोलसँगै लारिन पुरुष विश्वकपमा दुई गोल गर्ने पहिलो क्यानडाली खेलाडी बनेका छन्। त्यसपछि जोनाथन डेभिडले पहिलो हाफमा दुई गोल थपे। पहिलो हाफको अन्तिम समयमा कतारका होमाम अहमदले क्यानडाका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
दोस्रो हाफमा १० खेलाडीमा सीमित कतारविरुद्ध क्यानडा झन् आक्रामक देखियो। खेलका क्रममा कतारका असिम मादिबोले क्यानडाका मिडफिल्डर इस्माएल कोनेमाथि खराब फउल गरेपछि भीएआर (VAR) को सहयोगमा उनलाई पनि रातो कार्ड दिइयो। ९ जनामा सीमित कतारविरुद्ध क्यानडाले थप तीन गोल गर्यो, जसमा जोनाथन डेभिडले इन्जुरी समयमा आफ्नो ह्याट्रिक पूरा गरे। क्यानडाका लागि नाथन सालिबाले फ्रिकिकमार्फत चौथो गोल गरे भने कतारका मोहम्मद अल मन्नाइले आत्मघाती गोल गरेपछि क्यानडा ६–० ले विजयी भयो।
क्यानडाका लागि ठूलो धक्का ऐतिहासिक जितका बाबजुद क्यानडाका लागि मिडफिल्डर इस्माएल कोनेको चोट टाउको दुखाइ बनेको छ। खेलको दोस्रो हाफमा कतारी खेलाडीको खराब ट्याकलका कारण कोनेको खुट्टा भाँचिएपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो। प्रशिक्षक मार्सले कोनेको यो चोट टोलीका लागि ठूलो क्षति भएको बताएका छन्। चोटका कारण स्टार खेलाडी अल्फोन्सो डेभिस यो खेलमा मैदान उत्रिएनन्।
बने नयाँ कीर्तिमानहरू ओप्टा (Opta) को तथ्याङ्क अनुसार क्यानडाले कतारको पेनाल्टी बक्सभित्र ९७ पटक बल छोएको थियो, जुन सन् १९६६ यता विश्वकपको एउटै खेलमा कुनै पनि टोलीले बनाएको सबैभन्दा उच्च रेकर्ड हो। यसअघि सन् २०२२ मा कोस्टारिकाविरुद्ध जर्मनीले ७१ पटक टच गरेको रेकर्ड थियो। साथै, क्यानडा युरोप र दक्षिण अमेरिका बाहिरको यस्तो पहिलो टोली बनेको छ, जसले विश्वकपको एउटै खेलमा ५ वा सोभन्दा बढी गोल गरेको छ।
यो सानदार जितसँगै सह-आयोजक क्यानडा विश्वकपको ‘राउन्ड अफ ३२’ (नकआउट चरण) नजिक पुगेको छ। आगामी हप्ता स्विट्जरल्याण्डविरुद्ध हुने खेलमा बराबरी मात्रै गरे पनि क्यानडा समूह 'बी' को विजेता बन्दै अर्को चरणमा प्रवेश गर्नेछ।