असार ४, २०८३
विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै उपाधि दाबेदार पोर्चुगल अप्रत्याशित नतिजाको सिकार भएको छ। कप्तान क्रिस्टियानो रोनाल्डोको फितलो प्रदर्शनका कारण कमजोर मानिएको प्रजातान्त्रिक गणतन्त्र कंगो (DR Congo) सँग पोर्चुगल १-१ गोलको बराबरीमा रोकिएको हो।
यस बराबरीसँगै विश्वकपमा सुखद सुरुवात गर्ने पोर्चुगलको योजनामा धक्का लागेको छ भने रोनाल्डोको भूमिकालाई लिएर पुनः गम्भीर प्रश्न उठ्न थालेको छ।
खेलको छैटौँ मिनेटमै जोआओ नियभेसले उत्कृष्ट हेडरमार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। तर, सो गोल नै पोर्चुगलका लागि खेलभरिको एकमात्र 'सट अन टार्गेट' बन्न पुग्यो।
सन् १९७४ (जायरेको नामबाट) पछि पहिलोपटक विश्वकप खेलिरहेको डीआर कंगोले खेलमा उत्कृष्ट पुनरागमन गर्यो। न्युकासलका फरवार्ड योआने विसाले उत्कृष्ट गोल गर्दै कंगोलाई खेलमा फर्काए। यो गोल कंगोको विश्वकप इतिहासकै पहिलो गोल समेत हो। त्यसपछि पोर्चुगललाई बाँधेर राख्दै कंगोले ऐतिहासिक १ अंक खोस्न सफल भयो।
विगतका दुई ठूला प्रतियोगिता झैँ सन् २०२६ को विश्वकपमा पनि पोर्चुगलसामु एउटै प्रश्न तेर्सिएको छ— टोलीमा रोनाल्डोको भूमिका के हो? प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई मुख्य खेलाडीकै रूपमा ९० मिनेट मैदानमा राखे पनि रोनाल्डोले दुईवटा सुनौला अवसरहरू गुमाए।
यससँगै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा रोनाल्डोको गोलविहीन यात्रा लगातार १० खेल पुगेको छ।
विश्वकै उत्कृष्ट मिडफिल्डको साथ पाउँदा पनि रोनाल्डोले खेलमा जम्मा २९ पटक मात्र बल टच गर्न सके। अचम्मको कुरा त, पहिलो हाफमै मैदानबाट बाहिरिएका बर्नार्डो सिल्भा (२६ टच) बाहेक सुरुवाती ११ मा परेका पोर्चुगिज खेलाडीमध्ये रोनाल्डोको बल टच सबैभन्दा कम रह्यो। खेलका क्रममा पोर्चुगिज खेलाडीहरू आफैँले प्रहार गर्ने राम्रो स्थिति हुँदाहुँदै पनि जतिबेलै जर्सी नम्बर ७ (रोनाल्डो) लाई मात्र बल पास दिन खोज्दा पोर्चुगलले कयौँ अवसरहरू खेर फाल्यो।
विश्वकपको अघिल्लो दिन मात्रै लियोनेल मेस्सीले ह्याट्रिक तथा एर्लिङ हालान्ड र किलियन एम्बाप्पेले दुई-दुई गोल गरिसकेको अवस्थामा रोनाल्डोबाट पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको थियो, तर मैदानमा उनको जवाफ निकै निराशाजनक रह्यो।
रोबर्टो मार्टिनेज (मुख्य प्रशिक्षक, पोर्चुगल):
"हामीले खेलको सुरुवात निकै राम्रो गर्यौँ। गोल गरेपछि खेललाई अझ आक्रामक बनाउनुपर्नेमा हामीले आफ्नो गहिराई र लय गुमायौँ। यद्यपि, टोलीको प्रतिबद्धता र मिहिनेतमा कुनै कमी थिएन। यो बराबरीबाट सिकेर हामी आगामी खेलहरूमा अझ बलियो भएर आउनेछौँ।"
योआने विसा (गोलकर्ता, डीआर कंगो):
"हाम्रो देशको लागि विश्वकप इतिहासमै पहिलो गोल गर्न पाउनु मेरा लागि निकै ठूलो गर्वको कुरा हो। हामीभन्दा धेरै बलियो टोलीविरुद्ध हामीले हिम्मत र धैर्यता देखायौँ। अबको लक्ष्य यो लयलाई कायम राख्नु हो।"